मिति : २०८२ वैशाख २९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 2.60/5.00)
Text size:-
+
-

दयाहाङसँग मिरुनाको ह्याट्रिक

फिल्मीखबर, काठमाडौं, 2023/09/26

dayahang rai and miruna magar

 

खासमा ‘ह्याट्रिक’ शब्द फुटबलका लागि बनेको हो । तर, नेपाली फिल्ममा पनि यसको प्रयोग हुने गर्छ । यो शब्द आफैंमा अत्यन्त सुखद हो । लगातार तीनपटक कुनै उपलब्धि हासिल हुँदा ह्याट्रिक भनिन्छ । र, यो सुखद यात्रा अभिनेत्री मिरुना मगरले पार गरेकी छन् । उनका लगातार तीनटा फिल्म सफल भएका छन् । त्यो पनि एउटै नायक (दयाहाङ राई)सँग । यस्तो संयोग कमैलाई जुर्छ ।

उनको डेब्यू फिल्म ‘लालपूर्जा’ थियो । यसपछि ‘रोज’, ‘साइनो’ र ‘चच हुँई’ फिल्ममा काम गरिन् । तर, यी चारवटै फिल्मबाट उनले सफलता देख्न पाइनन् । जब उनको सहकार्य दयाहाङसँग हुन थाल्यो त्यसपछि करिअरले नयाँ उचाईं लिएको छ । दयाहाङसँगको ‘कबड्डी ४’ र ‘जारी’ले बक्स अफिसमा ठूलो रेकर्ड बनायो । यतिबेला प्रदर्शनरत दयाहाङसँगको ‘नाङ्गो गाउँ’ पनि हिट भएको छ ।

एक समय मिरुनालाई फ्लप फिल्मले नराम्रोसँग लखेटेको थियो । उनलाई ‘अनलक्की नायिका’को ट्याग समेत लाग्यो । अभिनयमा राम्रो हुँदा-हुँदै पनि उनी सफलताबाट बञ्चित थिइन् । तर, भनिन्छ नि, ‘मिहिनेतको फल सधैं मीठो हुन्छ ।’ यसको उदाहरण मिरुना जति अरु को हुन सक्ला र ? ह्याट्रिकसम्मको यात्रा उनका लागि जति संघर्षपूर्ण रह्यो, अबको यात्रा त्योभन्दा पनि चुनौतीपूर्ण हुनेछ ।

ह्याट्रिकपछि उनको माग चर्किएको छ । उनको पाइपलाइनमा फिल्महरु थुप्रिन थालेका छन् । विशेषगरी उनलाई दयाहाङ राईसँगै दोहोर्‍याउन मेकरहरुबीच हानाथाप छ । हुन पनि सबैले बलेकै आगो ताप्ने हुन् । अहिले दयाहाङ र मिरुनाको जोडी सफल छ र उनीहरुकै पछि मेकर छन् । तर, धेरै खायो भने चिनी पनि तीतो हुन्छ । यो जोडी पनि धेरै देखिँदा दर्शकलाई तीतो लाग्ने त होइन ?