ऐंचो पैंचोको अर्थ लिने-दिने भन्ने हुन्छ । नेपाली समाजमा यो वाक्यको प्रायः प्रयोग हुन्छ । र, यही चलनचल्तीको वाक्य सापटी दिँदै नेपाली फिल्म बनेको छ, ‘ऐंचो पैंचो’ । जनैपूर्णिमाबाट प्रदर्शनमा आएको फिल्मको नामजस्तै दुई अभिनेत्री स्वस्तिमा खड्का र वर्षा राउतबीच भूमिका पनि साटफेर भएको थियो । स्वस्तिमाको चित्त बुझाउनलाई निर्माण टिमले दुवैको भूमिका हेरफेर गरेको थियो ।
वर्षाले निर्वाह गरेको पुष्पाको भूमिकामा स्वस्तिमा रोजाईमा थिइन् । र, उनले गरेको रुपाको भूमिका वर्षाका लागि सोचिएको थियो । तर, स्वस्तिमाले वर्षाको रोल चाहिँ मन पराइन् । त्यो चरित्र केही भिन्न लाग्यो उनलाई । उनको आग्रहपछि निर्देशक तथा निर्मात्री कृषा चौलागाईं वर्षाको रोल (रुपा) स्वस्तिमालाई दिन राजी भइन् । र, स्वस्तिमालाई अफर गरिएको रोल वर्षाको पोल्टामा पर्यो ।
प्रिमियरमा यो रहस्य खोल्दै स्वस्तिमाले भनिन्, ‘म सधैं भनिरहेको हुन्छु कि मलाई जसरी सोचिन्छ, हरेक फिल्म हेर्दा भिन्न तरिकाले सोच्नुस् । खासमा मलाई वर्षाको रोलमा अप्रोच गर्नुभएको थियो । तर, मलाई रुपा क्यारेक्टरको ‘सेड’ मन परेको भएर यो क्यारेक्टर गर्छु नि भनेर आग्रह गरेँ । मलाई हरेक फिल्ममा फरक-फरक चरित्रमा हेरियोस् भन्ने सोचले रुपा क्यारेक्टर आफैंले रोजेकी थिएँ ।’
तर, जुन भूमिका स्वस्तिमाले फरक सोचेर गरेकी छन्, त्यसलाई समीक्षकले भने निकै कमजोर ठानेका छन् । उनको अभिनय पनि स्वभाविक नरहेको टिप्पणी भैरहेको छ । बरु, उनले छाडेको भूमिकामा वर्षाले गरेको अभिनयको वाहवाही भैरहेको छ । गम्भीर र ‘इनोसेट’ चरित्रमा उनले मनछुने अभिनय गरेको भन्दै दर्शक र समीक्षकले प्रशंसा गरेका छन् । यो फिल्मको मेरुदण्ड नै वर्षा हुन् ।
फिल्ममा वर्षा र स्वस्तिमा दिदी-बहिनीको भूमिकामा छन् । विवाहको एक सिनमा वर्षाले गरेको अभिनय फिल्मकै सबैभन्दा सशक्त पक्ष हो । दर्शकलाई रुवाउने र हलमा बाँध्ने जिम्मा नै वर्षाको काँधमा छ । फिल्मको ट्रेलरदेखि पोस्टरसम्ममा स्वस्तिमा हाबी थिइन् । निर्माण टिमको उनीप्रति बढी भरोसा थियो । तर, फिल्म रिलिजपश्चात् वर्षाकै चर्चा भैरहेको छ । स्वस्तिमा ओझेलमा परेकी छन् ।