कुनै बेला ‘नम्बर वान नायक’को पोजिसनमा लामो समय टिकेका आर्यन सिग्देल यतिबेला एउटा हिट फिल्मका लागि भौँतारिरहेका छन् । विगत ५/६ वर्षयता उनले हिट फिल्म देख्न पाएका छैनन् । करिअरको उत्कर्षमा रहँदा गुणस्तरीयभन्दा गुणात्मक फिल्ममा जोड दिनुको परिणाम अहिले उनले भोग्नुपर्ने विश्लेषण हुने गरेको छ । यद्यपि, उनीप्रति मेकरहरुको आकर्षण खासै घटेको छैन ।
तर, कुनै समय काखी च्यापेर हिँडेका मेकरहरु उनको विकल्प खोज्न थालेको देखिन्छ । रिजाल दाई-भाई (निर्देशक लक्ष्मण रिजाल र निर्माता रामप्रसाद रिजाल)का घरको हिरो मानिन्छन्, आर्यन । उनीमाथि रिजाल दाजु-भाईले करोडौं लगानी गरिसके । तर, सबै बालुवामा पानीझैँ भए । उनीहरुले आर्यनलाई लिएर फिल्म ‘कसम’, ‘धुवाँ यो नशा’, ‘कायरा’ र ‘डिसेम्बर फल्स’ बनाइसकेका छन् ।
रिजाल क्याम्पको फिल्म आर्यनबिना कल्पनै गरिन्न थियो । तर, यसपटक रिजाल दाजु-भाईले ‘सरप्राइज’ दिँदै नयाँ फिल्म ‘काजी’मा अभिनेता विपिन कार्कीलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् । जसले गर्दा राम-लक्ष्मणसँग आर्यनको सम्बन्धमा दरार आएको हुनसक्ने अड्कल काटिएको छ । कतिपयले भने केमियोमा मात्रै भए पनि यो फिल्ममा आर्यन जोडिन सक्ने विश्लेषण गरेका छन् ।
त्यस्तो त आर्यनलाई फिल्मको उत्ति अभाव छैन । आगामी भदौबाट उनी फिल्म ‘सञ्जीवनी’को छायांकनमा व्यस्त हुनेछन् । यसपछि उनले निर्देशक दिनेश राउतको एक नयाँ फिल्ममा काम गर्न सक्नेछन् । उनीसँग निर्देशक राउतकै अर्को फिल्म पनि छ । दशैंपछि उनले फिल्म ‘दौँतरी’मा काम गर्ने सम्भावना छ । आर्यनप्रति मेकरको विश्वास कायम रहेता पनि सफलता भने टाढा बनिरहेको छ ।