हिमाल आरोहणमा रुचि भएकी अभिनेत्री दीया पुनले अफ्रिका महादेशकै सबैभन्दा अग्लो हिमाल किलिमन्जारो चढ्ने भएकी छन् । त्यसका लागि उनी अफ्रिका पुगेर किलिमन्जारोको आधार शिविरतर्फ लागेकी छन् । उनी यही साउन २७ गते उक्त हिमाल चढ्ने योजनामा छिन् । तान्जानियामा अवस्थित हिमाल समुन्द्री सतहबाट ५ हजार ८९५ मिटर अर्थात् १९ हजार ३४१ फिटमा रहेको छ ।
दीयाले अघिल्लो वर्षको जेठमा विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् । यसअघि उनले ८ हजार १६३ मिटरको संसारको आठौँ अग्लो मनास्लु हिमाल चढेकी थिइन् । त्यस्तै, उनले सन् २०१८ मा अर्जेन्टिनास्थित ६ हजार ९६१ मिटर अग्लो माउन्ट अकोनकागुवाको पनि आरोहण गरिसकेकी छन् । दीयाको लक्ष्य सातै महादेशका अग्ला हिमाल पुग्ने छ ।
यूकेमा नर्सिङ पेशामा आबद्ध उनले अभिनयलाई निरन्तरता दिँदै आएकी छन् । फिल्म ‘वीर विक्रम’बाट सुखद डेब्यू गरेकी उनको यस वर्षको असार ८ गते फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको थियो । तर, यो फिल्म व्यावसायिक रुपमा सफल हुन सकेन । अब उनको पाइपलाइनमा नयाँ फिल्म छैन । उनले कोभिडभन्दा अघि काम गरेको फिल्म ‘दयारानी’ भने प्रदर्शनको पखाईमा छ ।