मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के हो ‘उपहार’ विवाद ?

फिल्मीखबर, काठमाडौं, 2023/08/08

Sulakshyan Bharati

 

अभिनेत्री रेखा थापाले करिब ५ वर्षपछि अभिनय र निर्माणमा कमब्याक गर्न लागेको फिल्म ‘उपहार’ आगामी भदौबाट छायांकनमा जाँदैछ । ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा रेखासँगै पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, समर्पणजंग कार्कीको अभिनय रहनेछ । तर, फिल्म छायांकनमा नजाँदै विवादमा तानिएको छ । फिल्मको टिमलाई सृजनात्मक दुरुपयोगको आरोप लागेको छ ।

सबैभन्दा पहिला ‘उपहार’ लेखनको जिम्मा सुरक्षण भारतीलाई दिइएको थियो । पछि अभिमन्यू निरवीले फिल्मको स्क्रिप्ट तयार पारे । विवादको मूल कारण यही नै हो । सुलक्षणले आफूले लेखेको कथामा अर्को लेखकले कसरी पटकथा लेख्न मिल्छ भनेर आपत्ति जनाएका छन् । अनुमति र पारिश्रमिकबिना आफ्नो कथामाथि काम भएको भन्दै उनले सामाजिक सञ्जालमा गुनासो पोखेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘रेखाजी र देउजाजी दुवैप्रति गम्भीर आपत्ति प्रकट गर्न चाहन्छु । मेरो वान लाइन वा कथामाथि मेरो अनुमति र पारिश्रमिक बिना नै काम गर्न खोज्नु कतिसम्म न्यायोचित होला ? मेरो प्रश्न ?’ उनको स्टाटसमा निर्देशक देउजाले लाइक गरेपछि भारतीले आफूले लाइक नभइ जवाफ मागेको लेखेका छन् । यसपछि ज्ञानेन्द्र र सुलक्षणबीच आरोप-प्रत्यारोप चलेको छ ।

निर्देशक देउजाले कमेन्ट बक्समा जवाफ दिँदै पैसा लिएर कन्सेप्ट डेभलप नगरी हिँडेको आरोप सुलक्षणलाई लगाएका छन् । उनले सुलक्षणलाई प्रश्न गर्दै लेखेका छन्, ‘तिम्रो कारणले बैशाखमा बन्ने फिल्म आजसम्म बन्न नसकेको हैन र ? आजसम्म प्रोड्युसरसँग सम्पर्कमा नआउने पनि तिमी हैन र ? तिमीले पैसो लगेर चैत्रमा स्क्रिप्ट बुझाउँछु भनेर आजसम्म किन प्रोड्युसरसँग सम्पर्क गरेनौ ?’

निर्देशक देउजालाई जवाफ दिँदै सुलक्षणले आफू सम्पर्क बाहिर नरहेको दाबी गरेका छन् । उनी लेख्छन्, ‘मैले पूरै कथा लेखेर र त्यसमाथि पुनः गरेको काम र लेखेको पूर्ण कथा तपाईंहरुलाई पठाएको इमेल मसँग पनि छ र तपाईंसँग पनि छ । अब सम्पर्कमा को र किन आएन त्यो बहसको विषय हैन ।’ उनले अग्रिम भुक्तानीको रुपमा ७५ हजार भने आफूले लिएको स्वीकार गरेका छन् ।

 

Sulakshyan Bharati


लेखक भारती कमेन्ट बक्समा अगाडि लेख्छन्, ‘यहाँ कुरा पैसाको होइन, मेरो कन्सेप्टको हो । यदि पैसा फिर्ता चाहनु हुन्छ भने म फिर्ता गर्न तयार छु तर मेरो कथा र कन्सेप्टमाथि म खेलबाड गरेको कसरी सहन सक्छु होला ! कि त मेरो कथा र कन्सेप्टमा काम नगर्नुस् । गर्नुहुन्छ भने मेरो अधिकार मलाई दिएर मात्र गर्नुस् ।’ सुलक्षणले आफूलाई तर्क नभइ न्याय चाहिएको बताएका छन् ।

उनले निर्देशक देउजालाई बौद्धिक सम्पत्तिको संरक्षणको बारेमा बहस गर्न चुनौती समेत दिएका छन् । यसको जवाफमा देउजाले सम्बन्धित ठाउँमा सम्पर्क गर्न भनेका छन् । सुलक्षणले सोमबार थप दुईवटा स्टाटस लेख्दै सृजनात्मक दुरुपयोग भएको उल्लेख गरेका छन् । उनलाई अभिनेता दिव्य देवले समेत समर्थन गरेका छन् । फिल्मकी निर्मात्री रेखा थापा भने यो विषयमा मौन छिन् ।