आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको टेक पौरखी राईद्वारा निर्देशित फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीमा केन्द्रित छ । उनीहरुको प्रेममा आउने उतार-चढाव र रोकावटलाई ट्रेलरमा देखाइएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माताद्वय सुरज ल्वागन (सरकार) र राज के अधिकारीसँगै सलोन बस्नेत, आमेष भण्डारी, सुशान्त कार्कीलगायतको उपस्थिति थियो । ‘जय हो’ नेपालकै मितिमा अष्ट्रेलियामा पनि प्रदर्शन हुँदैछ । फिल्मको प्रचारका लागि सलोन अघिल्लो हप्ता मात्र अष्ट्रेलिया पुगेका हुन् । फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार नमस्ते इन्टरटेनमेन्टले खरिद गरेको छ ।
फिल्ममा केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतको पनि अभिनय छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।