अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको गुत्थी सुल्झिन सकेको छैन । उनको निधन लगत्तै परिवारले छानबिनका लागि दिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धानलाई जारी राखेको भए पनि कुनै उपलब्धि देखिएको छैन । प्रहरीले अनुसन्धानलाई गम्भीर रुपमा अगाडि नबढाएको भन्दै आइतबार दिउँसो सारुककी आमा किटानी जाहेरी दिन प्रहरी कार्यालय टेकु पुगेकी थिइन् ।
तर, प्रहरीले प्रारम्भिक निवेदनको आधारमा नै अनुसन्धान भैरहेकाले किटानी जाहेरी दिनुपर्ने परिस्थिति आएको खण्डमा जानकारी गराउने आश्वासन सारुकको परिवारलाई दिएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताएका छन् । प्रहरीले आफ्नै हिसाबमा अनुसन्धान गरिरहेका कारण आफूहरु प्रहरी कार्यालयमा आएर दबाब दिनुपर्ने अवस्था नभएको पनि निरौलाले बताए ।
अध्यक्ष निरौलाले भने, ‘अहिलेलाई जाहेरी दिइएको छैन । एसएसपी साबले प्रारम्भिक निवेदनकै आधारमा अगाडि बढिरहेका छौं । यदि जाहेरी चाहिएको अवस्थामा माग्छौं भन्नुभएको छ । पहिलेकै निवेदनले अहिले काम भैरहेको छ भनेर भन्नुभयो ।’ यो केशमा राम्रोसँग अनुसन्धान भैरहेकाले यसलाई प्रभावित हुने गरी कुनै कार्य नगरिदिन पनि प्रहरीले आग्रह गरेको अध्यक्ष निरौलाले बताए ।
निरौलाले एसएसपीको भनाई उदृत गर्दै भने, ‘हामीले आफ्नो रफ्तारमा अनुसन्धान गरिरहेका छौं भनेर भन्नुभएको छ । उहाँले हामी अनुसन्धानमा चुक्दैनौं । सत्य-तथ्य छानबिन भएर यो केशको निरुपण हुन्छ भनेर सारुकको परिवारलाई आश्वासन दिनुभएको छ ।’ एसएसपी र डिएसपीको कुरा सुन्दा सारुकको निधनको घटना फितलो हुन्छ भन्ने आफूलाई नलागेको अध्यक्ष निरौलाको भनाई छ ।
सारुककी आमा नाम किटानीसहित जाहेरी दिनका लागि प्रहरी कार्यालय पुगेकी थिइन् । उनको साथमा कलाकार संघका अध्यक्ष निरौलासहित संघका महासचिव सविन श्रेष्ठ, पूर्व अध्यक्ष रविन्द्र खड्का पनि थिए । सारुकका पिता भने अस्वस्थ भएका कारण नर्भिक अस्पतालमा उपचारार्थ छन् । गत असार २१ गते सारुक रातोपुलस्थित आफ्नो घरमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।