मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षमा एउटा नाटक गर्ने शिल्पाको इच्छा

फिल्मीखबर, काठमाडौं, 2023/07/26

हलिउड र बलिउड हुँदै ‘कागजपत्र’बाट नेपाली फिल्ममा प्रवेश गरेकी अभिनेत्री शिल्पा मास्के अभिनयमा कुशल मानिन्छिन् । तर, फिल्मको असफलताले उनको करिअर सुखद बन्न दिएको छैन । यसबीच, उनले पहिलो पटक नाटकमा काम गरेकी छन् । उनी अभिनीत डेब्यू नाटक ‘ट्रान्जिट’ यतिबेला शिल्पी थिएटरमा मञ्चन भैरहेको छ । र, शिल्पाले अभिनयको प्रशंसा बटुलिरहेकी छन् ।

फिल्ममा खासै रिहर्सल गर्न नरुचाउने उनले नाटकका लागि एक महिनाभन्दा बढी समय रिहर्सलमै विताएकी थिइन् । धेरै रिहर्सल गर्दा फिल्ममा नेचुरल अभिनय नदेखिने तर नाटकमा जति धेरै रिहर्सल गर्‍यो त्यति राम्रो देखिने उनको अनभुव छ । उनी भन्छिन्, ‘नाटकमा जति रिहर्सल गरियो त्यति राम्रो । फिल्ममा चाहिँ जति कम रिहर्सल गर्‍यो त्यति नै राम्रो । नाटक गरेर यो फरक पाएँ ।’   

शिल्पालाई क्यामेराको अगाडि अभिनय गर्ने र चित्त नबुझेसम्म टेक लिने बानी परेको छ । तर, नाटक गर्दा न क्यामेरा हुन्छ न टेक लिन पाइन्छ । जसले गर्दा सुरु-सुरुमा उनलाई नाटकमा काम गर्न गाह्रो भएको थियो । निर्देशकदेखि को-एक्टर सबैको सहयोगले आफूलाई काम गर्न सहज हुँदै गएको उनको भनाई छ । भ्वाइस ‘लो’ भएकाले शिल्पाले नाटकमा अलि बढी नै मिहिनेत गर्नुपर्‍यो ।

 

Shilpa Maskey


‘नेचुरलमै मेरो भ्वाइस एकदमै ‘लो’ छ । नाटक गर्दा मैले मेरो भ्वाइसमा एकदमै काम गर्नुपर्ने थियो । भ्वाइस, प्रोजेक्टसन, इमोसन सबै एकैचोटी कसरी देखाउँ जस्तो भैरहेको थियो । फिल्ममा जस्तो टेक पनि लिन नपाइने । भ्वाइस र फिजिकालिटीमा मलाई एकदमै गाह्रो भएको थियो,’ उनले अनुभव सुनाइन् । अभिनयमा निखारता ल्याउन पनि नाटकमा काम गरेको शिल्पा बताउँछिन् ।

उनलाई एकपटक त आफू नाटकका लागि बनेको होइन भन्ने समेत भएको रहेछ । ‘सुरुमा त म नाटकका लागि बनेको हैन जस्तो लागेको थियो । तर, यो नाटक गर्नका लागि म आफैंलाई धकेल्नु थियो । फिल्ममा एउटैखाले क्यारेक्टर गरिरहेकाले अभिनयमा निखारता देखिएको थिएन । म आफैंलाई ‘मोनोटोनस’ भैरहेको थियो । त्यसले गर्दा पनि मैले नाटक गर्न बल गरेँ,’ मास्के सुनिइन् ।

‘ट्रान्जिट’मा काम गर्न आफूलाई टिमदेखि स्क्रिप्टले तानेको उनको भनाई छ । बाल्यकालमा स्कुलमा धेरैपटक स्टेजमा नृत्य प्रस्तुत गरेकी उनी वर्षौंपछि पुनः स्टेजमा प्रस्तुती दिन पाउँदा खुसी व्यक्त गर्छिन् । उनलाई अब वर्षमा एउटा नाटकमा अभिनय गर्ने इच्छा छ । उनले भनेकी छन्, ‘नाटकलाई एउटा सिकाईको रुपमा लिएको छु । अब मलाई वर्षमा एउटासम्म चाहिँ नाटक गर्न मन छ ।’