मोहन राईद्वारा निर्देशित फिल्म ‘महानगर’ आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार फिल्मका मुख्य अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधानलाई प्रस्तुत गरेर एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्म करिब ५ वर्ष अगाडि निर्माण भएको हो । भदौ ८ गते अभिनेता सलोन बस्नेत अभिनीत फिल्म ‘जय हो’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।
पहिलो पटक सन् २०२१ मा ‘कलकत्ता फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर भएको ‘महानगर’ त्यसपछि अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल र स्पेनमा एसियन फिल्म फेस्टिभलमा पनि प्रदर्शन भएको थियो । एक साँझ दुई अपरिचित पात्र (कार्म र मेनुका)को काठमाडौंमा अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई बुनेर फिल्म बनेको निर्देशक राईले जानकारी दिएका छन् ।
माउन्टेन रिभर फिल्मस् र गो विन् प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्म्सले निर्माण गरेको फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डेलगायतको पनि अभिनय छ । नरेन्द्र मैनालीको छायाङ्कन, परिक्षित झाको सम्पादन तथा पुष्पासंगमको संगीत छ । फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली र क्रियटिभ निर्माता नवनिधि दाहाल हुन् ।
विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई फिल्ममार्फत अभिव्यक्त गर्ने प्रयास गरेको निर्देशक राईले बताए । ‘गाउँबाट एउटा सपना बोकेर म पनि वर्षौं पहिला काठमाडौँ आएको थिएँ । काठमाडौँमा बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले ‘महानगर’ बनाएको हो,’ राईले भने ।