गत असार २१ गते घरमा झुन्डिएको अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको निधनको बारेमा केही दिन कलाकारहरुले सामाजिक सञ्जालमार्फत् जोरसोरले उचित छानबिनको माग गर्दै न्यायको आवाज उठाए । तर, दिन वित्दै जाँदा विस्तारै त्यो आवाज मत्थर हुन थालेको छ । प्रहरीले पनि सारुक नजिकका केही व्यक्तिहरुसँग सामान्य सोधपुछबाहेक कुनै कदम चाल्न सकेको छैन ।
सारुकको न्यायका लागि अभिनेत्री मलिना जोशीले सामाजिक सञ्जालमा पटक-पटक आवाज उठाउँदै आएकी छन् । सारुकलाई कसैले आत्महत्या गर्न बाध्य पार्ने अवस्थामा पुर्याएको र यसबारेमा उचित छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने उनको माग छ । यसबीच, मलिनाले मंगलबार इन्स्टाग्राममा अर्को नोट लेख्दै पापीलाई आफ्नै तरिकाले ठीक पार्न भगवानसँग प्रार्थना गरेकी छन् ।
‘यो भन्नका लागि शब्द छैन कि ऊभित्रबाट कति सुन्दर थियो । उसले जोसँग पनि भेटेको थियो, उनीहरुसँग उसलाई भन्नका लागि केवल राम्रो कुरा मात्र छ । ऊ गैहाल्यो तर प्रिय भगवान् आफ्नो तरिकाबाट पापीलाई ठीक पार्नुस् । उसलाई त्यो स्वर्ग प्रदान गर्नुस्, जसको ऊ हकदार हो । माता-पिताको अत्याधिक पीडाको दर्दनाक चित्कारबाट ऊ बाहिर निस्कन पाएको छैन,’ उनी लेख्छिन् ।
सारुकका पिता (सानु ताम्राकार)ले कसैलाई रुन नदिन सान्त्वना दिने कोशिश गरेको र सबैलाई हँसाउन मूर्खतापूर्ण चुट्किला भन्ने कोशिश गरेको क्षण सबैभन्दा दर्दनाक रहेको पनि उनले उल्लेख गरेकी छन् । अभिनेत्री जोशी अगाडि लेख्छिन्, ‘उसका माता-पिता सुन हुन् । जीवन यति अनुचित पनि हुन सक्छ र ? ऊ एक अद्भुत माता-पिताद्वारा अत्यन्त राम्रोसँग हुर्किएको छोरा थियो ।’