मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

बोर्डले फिल्मको कमाई सार्वजनिक गरेकोमा करिश्माको आपत्ति

फिल्मीखबर, काठमाडौं, 2023/07/24

निर्माताहरुबीच फिल्मको कमाई धेरै देखाउने होडबाजी छ । १० लाख कमाएको फिल्मले ५० लाख र ५० लाख कमाएको फिल्मले डेढ/दुई करोड कमायो भन्दै निर्माताले झ्याली पिट्ने गरेका छन् । हलहरुमा बक्सअफिस सिस्टम कार्यान्वयन नहुँदासम्म मिडियाले समेत निर्माता र वितरककै बोली पत्याउनु पर्ने अवस्था थियो । र, मिडियालाई प्रयोग गरेर निर्माताले करोडौंको डंका पिट्ने गर्थे ।

 

Karishma Manandhar


देशका धेरैजसो हलमा बक्स अफिस सिस्टम लागू भएपछि चलचित्र विकास बोर्डले यस वर्षदेखि स्वदेशी र विदेशी फिल्मको कमाई सार्वजनिक गर्न थालेको छ, जुन धेरै निर्मातालाई टाउको दुखाइको विषय बनिरहेको छ । किनकि, मिडियाले बोर्डको रिपोर्टलाई नै आधार मान्न थालेको छ । जसले गर्दा निर्माताले फिल्मले करोडौं कमाइसक्यो भन्दै न हल्लाखल्ला गर्न पाएका छन् न केक काट्न ।

बोर्डले फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गर्न थालेकोमा धेरै निर्माता खुसी छैनन् । यसबीच, अभिनेत्री करिश्मा मानन्धरले पनि फिल्मको कमाई सार्वजनिक गर्ने बोर्डको कदमप्रति आपत्ति जनाएकी छन् । फिल्म प्रदर्शन भैरहेको समयमा कमाई सार्वजनिक गर्नु ठीक नभएको बताउँदै उनले फिल्म नउत्रिएसम्म व्यापार सार्वजनिक गर्न नपाउने नियमको लागि पहल गर्नुपर्ने बताएकी छन् ।

‘जबसम्म फिल्म चलिरहेको हुन्छ, तबसम्म दर्शक तान्ने सम्भावना रहिरहन्छ । फिल्म चलेको दुई दिनमै यति कमायो र उति कमायो भनेर समाचार सार्वजनिक गर्नु बोर्ड जस्तो जिम्मेवार निकायले गर्ने कुरा हो जस्तो लाग्दैन,’ उनी फेसबुकमा लेख्छिन्, ‘सबै मिलेर कानुनी रुपमा नै जबसम्म फिल्म हलबाट उत्रिँदैन तबसम्म व्यापार सार्वजनिक गर्न नपाउने नियमको लागि पहल गर्नुपर्ने देखियो ।’

बोर्डको स्थापना गलत समयमा सूचना प्रकाशित गर्नका लागि नभएको उनको तर्क छ । बोर्डले फिल्मको कमाई सार्वजनिक गरेको विषयमा करिश्माले यसकारण आपत्ति जनाएकी हुन् कि उनको मुख्य भूमिका रहेको फिल्म ‘बगान’को कमाई बोर्डले मिडियालाई उपलब्ध गराउँदै आएको रिपोर्टमा कमजोर देखिएको छ । फिल्मकी निर्मात्री समेत भएकाले करिश्मालाई यो सह्यै हुने कुरै भएन ।

 

Karishma Manandhar


बोर्डको रिपोर्टमा ‘बगान’को कम कमाई देखिएपछि सोमबार निर्माण टिमले वितरक कम्पनीबाट प्राप्त १० दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । जसमा फिल्मले ६९ लाख ७८ हजार १ सय ९१ रुपैयाँ कमाएको उल्लेख छ । तर, बोर्डमा फिल्मको कमाई योभन्दा केही कम देखिन्छ । निर्माताले दर्शकलाई हलसम्म तान्न फिल्मको कमाई धेरै देखाएको हुनसक्ने कतिपयको टिप्पणी छ ।