अभिनेता सलोन बस्नेतको अभिनयमा खोट दिने ठाउँ कमै भेटिन्छ । बाल्यकालदेखि नै अभिनयमा भिजेकाले उनी अनुभवी छन् । चलबुले स्वभावको चरित्रमा रुचाइएका उनलाई लिड हिरोभन्दा हिरोलाई साथ दिने भूमिका बढी फापेको छ । उनको प्रयास भने आफ्नै स्टारडमले फिल्म चलाउने छ । तर, उनको त्यो सपना पूरा हुन पाएको छैन । अब उनलाई फिल्म ‘जय हो’बाट आशा छ ।
फिल्ममा नाम चलेका कलाकारहरुको जत्था भएपनि कथा सलोनमा नै केन्द्रित छ । त्यसमाथि फिल्म उनको होम प्रोडक्सनको हो । जसले गर्दा यसपटक सलोन फिल्म व्यावसायिक रुपमा सफल हुनुपर्ने दबाबमा छन् । यसैले हुनसक्छ, फिल्म रिलिजको एक महिना अगावैदेखि उनी प्रचारमा दौडिरहेका छन् । सलोनको दौडधुप हेर्दा फिल्मप्रति उनले ठूलो अपेक्षा राखेको बुझ्न सकिन्छ ।
आइतबार सलोन पिता तथा फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत र अभिनेत्री केकी अधिकारीको साथमा ‘जय हो’को प्रचार गर्नका लागि कमलादीस्थित प्रज्ञा भवन पुगेका थिए । त्यहाँ एपेक्स कलेजले एकदिने सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । सयौंको संख्यामा उपस्थिति रहेको कार्यक्रममा फिल्मको टिजर तथा गीत देखाइएको थियो भने सलोन र केकीले फिल्म हेर्न निम्तो दिए ।
त्यहाँ सलोनले आफूले अभिनय गरेका केही फिल्मका संवाद बोल्नुका साथै गीत गाएर कलेजका विद्यार्थीलाई मनोरञ्जन प्रदान गरे । यस्तै, केकी अधिकारीले फिल्म राम्रो बनेको र हेरेर साथ दिन आग्रह गरिन् । यो फिल्ममा सलोन र केकीको जोडी बाँधिएको छ । टिजरमा केकीको लुक्स हेर्दा उनको भूमिका पृथक देखिन्छ । सलोन भने फिल्ममा फोटोग्राफीमा सौखिन पात्रको भूमिकामा छन् ।
टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा सलोन र केकीका अलावा अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतको पनि अभिनय छ । सौरभ लामाको छायांकन रहेको फिल्मका निर्माता अष्ट्रेलिया निवासी राज के अधिकारी र सुरज सरकार हुन् । फिल्म आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।