भनिन्छ, ‘१२ वर्षपछि बगेको खोला पनि फर्किन्छ ।’ यो उखान निर्देशक शंकर घिमिरेको हकमा लागू भएको छ । उनी १२ वर्षको अन्तरालपछि निर्देशनमा फर्किने भएका छन् । सन् २०११ मा फिल्म ‘ब्रेकफेल’ बनाएपछि निर्देशनबाट टाढिएका उनले अब ‘तेल भिसा’ नाममा फिल्म बनाउन लागेका हुन् । आइतबार फिल्मको मुख्य भूमिकामा उनले अभिनेता विपिन कार्कीलाई अनुबन्ध गरे ।
छोराछोरीले आफ्नो सन्तान भएपछि स्याहार-सुसार गर्न आमा-बुबालाई विदेश बोलाउने चलन छ । त्यसलाई व्यंग्यात्मक रुपमा तेल भिसा भनिन्छ । यो वाक्यको जन्मकर्ता हाँस्य कलाकार राजाराम पौडेल हुन् । फिल्मले सामाजिक विषयवस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने शीर्षकबाट बुझ्न सकिन्छ । ‘तेल भिसा’का लागि विपिनले अहिलेसम्मकै महंगो पारिश्रमिक बुझेको जानकारी प्राप्त छ ।
फिल्ममा विपिन दोहोरो भूमिकामा रहनेछन् । उनी छोरा र पिताको भूमिकामा प्रस्तुत हुने स्रोत बताउँछ । यसअघि फिल्म ‘हरी’मा उनले चावटा चरित्र निभाएका थिए । आउँदो तिहारपछि नेपाल र अमेरिकामा फिल्मको छायांकन हुनेछ । विपिनसँग सम्झौतापछि निर्देशक घिमिरे फेसबुकमा लेख्छन्, ‘फिल्म विशुद्ध मनोरञ्जन र यथार्थ खालको हुनेछ ।’ फिल्ममा शंकर स्वयंको निर्माण रहनेछ ।
शंकरले ‘ब्रेकफेल’सँगै विष’, ‘वीरताको चिनो’ र ‘तुलसी’ फिल्मको निर्देशन गरेका छन् । ‘ब्रेकफेल’को असफलतापछि उनी निराश भएर अमेरिका हानिएका थिए । उनकी श्रीमती ऋचा घिमिरे नेपाली फिल्मकी अभिनेत्री समेत हुन् । उनको ‘ब्रेकफेल’पछि अभिनय यात्रामा ‘ब्रेक’ नै लागेको छ । ‘तेल भिसा’का लागि अन्य कलाकार र प्राविधिक टिम केही दिनमा छनोट गर्ने तयारीमा शंकर छन् ।