फिल्म ‘बुलबुल’मा चोपेन्द्रको भूमिकामा सशक्त अभिनय गरेपछि मेकरहरुको रोजाईमा परेका अभिनेता मुकुन भुषालको फिल्ममा व्यस्तता बढ्दो छ । गत वर्ष फिल्म ‘झिँगेदाउ’ हिट भएपछि उनले लगातार फिल्म सम्झौता गरिरहेका छन् । भदौमा मात्र उनको दुईवटा फिल्म रिलिज हुँदैछ । यसबीच, उनी अभिनेत्री रेखा थापाको निर्माण तथा अभिनय रहने फिल्म ‘उपहार’मा भित्रिएका छन् ।
आइतबार रेखाका श्रीमान् तथा व्यावसायी बलराम शाहीले मुकुनसँग कागजी सम्झौता गरेका हुन् । पहिलो पटक रेखा र भुषालबीच फिल्ममा सहकार्य हुन लागेका हो । फिल्ममा अभिनेत्री पूजा शर्माको पनि मुख्य भूमिका रहनेछ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको ‘उपहार’मा अर्को एकजना अभिनेत्रीको प्रवेश हुन बाँकी छ । पहिला तेस्रो अभिनेत्रीमा आँचल शर्माको नाम चर्चामा थियो ।
अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको फिल्मको आगामी भदौबाट छायांकन सुरु हुनेछ । काठमाडौं आसपासमा छायांकन गर्ने तयारी गरिएको फिल्म सामाजिक विषयवस्तुमा आधारित हुने जनाइएको छ । रेखा फिल्म्स तथा कपनगढी सिनेमाको संयुक्त ब्यानरमा फिल्मको निर्माण हुनेछ । यो फिल्मबाट रेखा थापाले ५ वर्षको अन्तरालपछि अभिनय र निर्माणमा पुनरागमन गर्दैछिन् ।