Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पाको नाटकमा डेब्यू

फिल्मीखबर, काठमाडौं, 2023/07/21

shilpa maskey

 

फिल्ममा असफलतासँग जुधिरहेकी अभिनेत्री शिल्पा मास्केले नाटकमा डेब्यू गरेकी छन् । घिमिरे युवराजको निर्देशन तथा कुमार नगरकोटीको लेखन रहेको ‘ट्रान्जिट’ नामक नाटकमा उनी मुख्य भूमिकामा छिन् । साउन ५ गतेदेखि बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन सुरु भएको नाटकको बिहीबार प्रिमियर आयोजना गरिएको थियो । जहाँ शिल्पाले अभिनयको प्रशंसा कमाइन् ।

अभिनेत्री मास्केको डेब्यू नाटक भएकाले पनि ‘ट्रान्जिट’प्रति दर्शकमा चासो ठूलो थियो । नाटकमा तीन महिला पात्रमध्ये शिल्पा एक हुन् । पहिलो पटक नाटकमा अभिनय गरेकाले उनमा खुसी र डरको भाव दुवै छ । उनले नाटकका लागि एक महिना वर्कसपमा समय विताएकी थिइन् । नाटकमा शिल्पासँगै अभिनेता दिव्यदेव, आकांक्षा कार्की र वासना तिमल्सिनाको पनि अभिनय रहेको छ ।

फिल्म र नाटकबीच दशकौंदेखि कलाकार आदान-प्रदान चलिरहेको छ । फिल्ममा स्थापित धेरै कलाकारहरुले नाटकमा अभिनय गरिसकेका छन् भने नाटक हुँदै फिल्ममा स्थापित कलाकारहरुको संख्या पनि उल्लेख्य छ । अनुप बराल, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल, नाजिर हुसेन, लक्ष्मी वर्देवा, मेनुका प्रधान, बुद्धि तामाङलगायत धेरै कलाकारहरु नाटकले जन्माएका हुन् ।

फिल्मभन्दा नाटकमा काम गर्न तुलनात्मक रुपमा कठीन मानिन्छ । फिल्ममा ‘रि-टेक’ दिन कलाकार छुट हुन्छ तर नाटकमा त्यो सुविधा हुँदैन । नाटकमा जे हुन्छ, प्रत्यक्ष हुन्छ । यसैले नाटक मञ्चनभन्दा अघि हप्तौंसम्म वर्कसप गरिन्छ । कलाकारलाई अभिनय निखार्न नाटक सबैभन्दा उत्तम प्लेटफर्म मानिन्छ । त्यसैले आजभोलि युवापुस्ताका कलाकारहरुको नाटकप्रति झुकाव बढ्दो छ ।