आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको लभस्टोरी फिल्म ‘हिँड्दा हिँड्दै’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘हाँस्ने ओठहरु तिम्रा हुन्’ बोलको सार्वजनिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको युगल स्वर रहेको छ भने किरण माइकल घिमिरेको शब्द रचना तथा संगीत छ । यो गीतले फिल्मका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाहको प्रेमभाव बोल्छ ।
मिलन आले मगर निर्देशित फिल्ममा सलोन बस्नेत, सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकार अर्विन थिङ्गको पनि अभिनय छ । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण छ । विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा राज लामा निर्मातामा छन् भने प्रमोद कुमार तामाङ र महादेश शाह सह-निर्मातामा छन् ।
आरआर फिल्म्सले देशभर वितरण गर्न लागको फिल्ममा सुमन कुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व, तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत तथा कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । अघिल्लो वर्ष दुई फिल्मको असफलताले हच्किएका आकाशलाई ‘हिँड्दा हिँड्दै’ व्यावसायिक रुपमा सफल हुनैपर्ने दबाब छ ।

