
फिल्म र म्यूजिक भिडियोमा दर्शकले रुचाइएका जोडी ज्यादै कम छन् । त्यसमध्येमा पर्छन्, पल शाह र मलिका महत । फिल्ममा उनीहरुबीच सहकार्य हुन सकेको छैन । तर, म्यूजिक भिडियोमा सहकार्य टुटेको छैन । ‘फूलबुट्टे साडी’ गीतको सफलतापछि यो जोडी दर्शकको ‘फेभरेट’ बन्यो । र, म्यूजिक भिडियोमा सर्वाधिक ‘डिमान्डेड’ । स्क्रिनमा यो जोडीको केमेस्ट्री सुहाएको देखिन्छ ।
उनीहरुले निरन्तर म्यूजिक भिडियोमा काम गरिरहँदा पल एक घटनाका कारण जेल जानुपर्यो । जेलमुक्त भएपछि पलसँग काम गर्न मलिकाले नचाहेको चर्चा चलिरहेको समयमा यी दुईले फेरि एकसाथ म्यूजिक भिडियोमा काम गरेका छन् । अहिले उनीहरु एक गीतको छायांकनमा व्यस्त छन् । दुवैले एकअर्कासँग पुनः काम गरेको जानकारी आ-आफ्नो इन्स्टाग्राममार्फत् गराएका छन् ।
म्यूजिक भिडियोमा जोडी रुचाइएपछि पल र मलिकालाई फिल्ममा लिन मेकरहरुबीच हानाथाप नै चलेको थियो । उनीहरुले फिल्म ‘सत्यम्’मा काम गर्ने त निश्चित नै भैसकेको थियो । पछि मलिकाले पढाईका कारण फिल्म छाडिन् र पल पनि जेल चलान भएपछि फिल्म निर्माण हुन सकेन । ‘पर्खी बसेँ २’ फिल्ममा पनि उनीहरुले काम गर्ने मौखिक सहमति भैसकेको थियो । तर, फिल्मै बनेन ।
केन्द्र मोशन पिक्चरले पनि पल र मलिकालाई लिएर फिल्म निर्माणको तयारी गरेको थियो । पल जेल गएपछि त्यो फिल्मको निर्माण अन्योल बन्यो । यसरी हेर्दा उनीहरुले चाहेर पनि फिल्ममा सहकार्य जुर्न नसकेको देखिन्छ । यो जोडीले पुनः म्यूजिक भिडियोमा काम गरेर फिल्ममा सहकार्यको ढोका भने खुल्ला गरेको छ । अब मेकरहरु पो उनीहरुको जोडी बाँध्न तयार छन् कि छैनन् कुन्नी ?

