फिल्ममा सुखद करिअर हुँदाहुँदै जीवनलाई नै पूर्णविराम लगाएका अभिनेता सारुक ताम्राकारलाई सम्झना गर्दै बुधबार साँझ शान्ति क्षेत्र बौद्धनाथ स्तुपामा दीप प्रज्वलन गरिएको थियो । उनको दीपझैं चम्किलो तस्बिर अगाडि दीप प्रज्वलन गर्दा हरेकका आँखा आँशुले टिलपिल देखिन्थे । सारुकसँग एकपटक भेटेकाहरु पनि उनको मिलनसार व्यवहारको प्रशंसामा शब्द खर्चिरहेका थिए ।
चर्चित गायक नितेशजंग कुँवर र सारुक एउटै कलेजमा पढेका रहेछन् । पढाईकै क्रममा उनीहरु मिल्ने साथी बन्न पुगे । उनीहरुले मिलेर म्यूजिक ब्यान्ड समेत खोलेका थिए । आज उनै मिल्ने साथीको सम्झनामा दीप प्रज्वलन गर्दा उनी गहभरी देखिन्थे । उनले सारुकसँग विताएका कलेज जीवनका यादगार क्षण सम्झिए । कलेजमा आफूहरुले सारुकलाई ‘प्रिन्सेस’ भन्ने गरेको उनले बताए ।
‘हामी सारुकलाई प्रिन्सेस भनेर जिस्काउँथ्यौं । केही अरायो भने उसले खुट्टा र हात दुखेको छ भनेर सधैं बहाना बनाउँथ्यो । यसैले हामीले उसलाई प्रिन्सेस भन्ने गर्थ्यौं । पढाईकै क्रममा हामीले म्यूजिक ब्यान्ड खोलेका थियौं । उसको आइडिया नै फरक हुने । गीत पनि कसैले नगरेको गर्नुपर्थ्यो उसलाई । उसको आइडिया र बौद्धिकता चाहिँ खत्रै हो । ऊसँगका धेरै सम्झनाहरु छन्,’ उनले भने ।
अहिले नितेशलाई सारुकको छोटो समय भएकाले नै आफूहरुले साथमा धेरै रमाइलो गरेको जस्तो लाग्छ । सारुकको प्रतिभा देखेर आफू चकित हुने गरेको नितेश बताउँछन् । ‘ऊ एकदमै मिहिनेती मान्छे हो,’ उनले भने, ‘एउटा सानो रोल पायो भने पनि उसलाई त्यसभित्र घुस्नै पर्ने हुन्थ्यो । कामचलाउ गरेर छाड्छु भन्ने खालको मान्छे हैन ऊ ।’ उनी सारुकलाई असल व्यक्तिको संज्ञा दिन्छन् ।