दिवंगत अभिनेता सारुक ताम्राकारको सम्झनामा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ शान्ति क्षेत्र बौद्धनाथ स्तुपामा सारुकको चिरशान्तिको कामना गर्दै उनका परिवारका सदस्यहरु, कलाकारहरु तथा सर्वसाधारणले मक्खन बत्ती र मैनबैत्ती बालेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे । उनलाई सम्झँदै दीप प्रज्वलन गर्दा प्रायः गहभरी भएका थिए । सारुकका आमा-बुबा भावविह्वल देखिन्थे ।
(अभिनेत्री बेनिशा हमाल)
सारुकको सम्झनामा दीप प्रज्वलन गर्न अभिनेत्रीहरु मलिना जोशी, बेनिशा हमाल, सुष्मा कार्की, श्रद्धा क्षेत्री, भ्लगर सिसन बानियाँ, गायक नितेशजंग कुँवर, पूर्वबैंकर अनिल केशरी शाह, लेखक सम्पदा मल्ल, निर्देशक रेनशा वान्तवा राई, निर्माता प्रज्वल सम्सेर राणा, पूर्वमिस नेपाल अश्मी श्रेष्ठलगायत उपस्थित थिए । गत असार २१ गते सारुक घरमै झुण्डिएको अवस्थामा भेटिएका थिए ।
(स्व. अभिनेता सारुक ताम्राकारका आमा-बुबा)
सारुकको सम्झना गर्दै उनका नजिकका साथी सिसन बानियाँले सारुक निराश हुने व्यक्ति नभएको बताउँदै सधैं हाँसी-खुसी रहने गरेको स्मरण गरे । ‘सारुक सबैको प्रिय थियो,’ उनले भने, ‘ऊसँग मिलेर हामीले सर्ट फिल्म समेत बनाएका थियौं । उसको र मेरो करिअर सँगै सुरु भएको हो । सारुक निराश हुने मान्छे होइन । ऊ सधैं हाँसी-खुसी रहन्थ्यो । ऊ परर्फेक्ट मोडल र अभिनेता हो ।’
(गायक नितेशजंग कुँवर)
सारुकको आत्महत्या प्रकरणलाई लिएर यतिबेला धेरै प्रश्न उठिरहेका छन् । उनलाई आत्महत्या गर्न बाध्य पारिएको हुनसक्ने भन्दै उनीनिकट कलाकारहरुले छानबिनको माग समेत गरिरहेका छन् । प्रहरीले पनि उनको आत्महत्याको बारेमा अनुसन्धान गरिरहेको छ । सारुकले निधनअघिसम्म अभिनय गरिरहेको फिल्मका निर्देशक र निर्मातासँग प्रहरीले केही दिनअघि सोधपुछ गरेको थियो ।