‘हामी तीन भाई’ शीर्षकमा दोस्रो पटक बन्न लागेको फिल्ममा दुईजना अभिनेत्री भित्रिएका छन् । बुधबार ‘बुलबुल’ फेम्ड अभिनेत्री लक्ष्मी वर्देवा र मंगलवार ‘ड्रिम गर्ल’ फेम्ड अभिनेत्री आश्मा गिरीसँग निर्माण टिमले मुख्य भूमिकाका लागि सम्झौता गरेको छ । फिल्ममा लक्ष्मीको जोडी विनोद न्यौपानेसँग बाँधिनेछ भने आश्माले ‘झिँगेदाउ’ फेम्ड अभिनेता कुशल विष्टसँग रोमान्स गर्नेछिन् ।
गत हप्ता गोर्खास्थित मनकामना मन्दिरमा फिल्मको स्क्रिप्ट पूजा गरिएको थियो । यही साउन दोस्रो हप्तादेखि छायांकन सुरु हुन लागेको फिल्ममा जाह्नवी बस्नेत, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा (हर्के हवल्दार), दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँलको पनि विशेष भूमिका रहनेछ । मधुसुदन भट्टराईले फिल्मलाई निर्देशन गर्नेछन् ।
फिल्मको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् । साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा त्रिरत्न श्रेष्ठ निर्माता, विक्रम तामाङ कार्यकारी निर्माता तथा प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सह-निर्मातामा छन् । फिल्ममा शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशक र एसबी सापकोटाको संगीत रहनेछ ।
दुई दशकअघि स्वर्गीय शिव रेग्मीले ‘हामी तीन भाई’ नाममा फिल्म बनाएका थिए । यो त्यसबेलाको सुपरहिट फिल्म हो । फिल्ममा राजेश हमाल, स्वर्गीय श्रीकृष्ण श्रेष्ठ र निखिल उप्रेतीसँगै रेखा थापा, झरना थापा र नन्दिता केसीको अभिनय थियो । ब्रान्ड नाममाथि फिल्म बनाउन लागेका निर्देशक भट्टराईमाथि सफलताको ठूलो दबाब रहनेछ । उनले कोभिडअघि फिल्मको घोषणा गरेका थिए ।