गत शुक्रबारबाट प्रदर्शनरत सरोज खनालद्वारा निर्देशित फिल्म ‘बगान’ले अपेक्षाकृत कमाई गर्न नसकिरहेको भएपनि दर्शकसँगै विभिन्न क्षेत्रका व्यक्तिहरुबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । यसैबीच, मंगलबार साँझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित कलाकार, राजनीतिज्ञ, साहित्यकार तथा विश्लेषकहरूले फिल्म हेरेर कथावस्तुदेखि कलाकारको अभिनय पक्षसम्मको प्रशंसा गरे ।
पूर्वराष्ट्रपति भण्डारीले फिल्मको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने विश्वास व्यक्त गरिन् । कलाकार मदनकृष्ण श्रेष्ठले सन्तानले पनि हेर्नुपर्ने फिल्म बनेको बताए । ‘नारीमाथि भैरहेको अन्यायको विषयसँगै फिल्मले समाजलाई राम्रो सन्देश दिन्छ । यो कथा उठाएकोमा सरोज खनाललाई धन्यवाद,’ उनले भने । फिल्मका केही दृश्यमा आफू भावुक भएको समेत उनले बताए ।
राप्रपा नेता रविन्द्र मिश्रले जुन बिषयवस्तुलाई प्रोत्साहित गर्नुपर्ने हो त्यो विषय ‘बगान’ले उठाएकोमा निर्देशक खनालप्रति धन्यवाद व्यक्त गरे । पुरुष तथा महिला दुवैले मुखले अधिकारको कुरा गरेपनि भित्री मनले आफूसँग सम्बन्धित एकल महिलाले पुनर्विवाह नगरेहुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि व्याप्त रहेको र यो विषयलाई सशक्त रूपमा फिल्ममा प्रस्तुत गरिएको प्रतिक्रिया दिए ।
पूर्वमन्त्री हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफैँ पनि तमाम् महिलाहरूको लागि प्रेरणा रहेको बताउँदै त्यस्तै प्रकृतिको फिल्म हेर्न पाउँदा खुसी लागेको प्रतिक्रिया जनाइन् । कलाकार हरिवंश आचार्यले फिल्मको विषय मुटु छुने रहेको बताए । उनले निर्देशनमा हात हालेका खनालले राम्रो काम गरेको बताउँदै अभिनेत्री मानन्धर र प्रमिला कार्कीको अभिनयको खुलेर तारिफ गरे ।
निर्देशक तुलसी घिमिरेले यो विषय एकदम सुनौलो र समाजको लागि बलियो सन्देश रहेको बताए । फिल्मले मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने उल्लेख गरे । कलाकार किरण केसीले फिल्मले धेरैपटक रुवाएको बताउँदै अभिनेत्री कार्कीको अभिनयको प्रशंसा गरे । संविधानविद् भिमार्जुन आचार्य र नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेलले पनि फिल्मको प्रशंसामा शब्द खर्चिए ।
‘बगान’मा नीर शाह, बसुन्धरा भुषाल, आकाश श्रेष्ठ र मिथिला शर्माको पनि अभिनय छ । निर्देशक खनालले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् । स्वप्निल नीरवले लेखेको एक पुस्तकमा आधारित भएर तयार भएको फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्मातामा विनोद मानन्धर छन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन छ ।