अभिनेत्री करिश्मा मानन्धर अभिनीत नयाँ फिल्म ‘बगान’ पाँचदिनदेखि हलमा प्रदर्शनरत छ । फिल्म प्रदर्शनको संघारमा करिश्माले फेसबुकमा स्टाटस लेख्दै काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई फिल्मको प्रदर्शनमा सहयोग गर्न आग्रह गरेकी थिइन् । तर, फेसबुकमा लेखेको स्टाटस हटाउने बानी परेकी उनले बालेनका लागि लेखेको स्टाटस पनि २४ घण्टा नवित्दै हटाएकी थिइन् ।
यसबीच, उनकै फिल्म ‘बगान’को निर्मातालाई काठमाडौं महानगरपालिकाले जथाभावी पोस्टर टाँसेको भन्दै जरिवाना तिराएको छ । फिल्मको निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउसलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । काठमाडौं महानगरले आफ्नो क्षेत्राधिकारभित्र पर्चा, पम्पलेट, पोस्टर टाँस्न मनाही गरेको छ ।
जरिवाना तिरेको प्राप्ति रसिदको फोटो फेसबुकमा राख्दै फिल्मका निर्माता सुरेश वाग्लेले नेपाली फिल्मलाई सहयोग गरिदिन मेयर शाहलाई आग्रह गरेका छन् । उनी लेख्छन्, ‘बालेनजी ‘आदिपुरूष’लाई त रोक्नुभयो, नेपाली सिनेमालाई सहयोग पनि गरिदिनुहोला । हाम्रो जानकारी बिना हाम्रो डिस्ट्रीब्यूटरले आफ्नो घरको भित्तामा टाँसेको पोस्टरलाई महानगरले ५० हजार जरिवाना तिराएछ ।’
महानगर प्रहरी प्रमुख राजु पाण्डेले मिडियाबाजी गर्नुभन्दा अघि आफूलाई यसबारेमा जानकारी गराएको भए त्रुटी सच्चाउन समय पाउने उनले उल्लेख गरेका छन् । वातावरण प्रदूषणविरूद्धको महानगरको अभियानमा भने आफूहरुको सधैं साथ र सहयोग रहने उनको प्रतिबद्धता छ । अभिनेता सरोज खनालद्वारा निर्देशित ‘बगान’ले एकल महिलाको पुनर्विवाहको कथालाई उठान गरेको छ ।