मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोर्खा वारियर’ले नेपालमा सर्वाधिक कमाईको रेकर्ड बनाउने मिलनको विश्वास

फिल्मीखबर, काठमाडौं, 2023/07/18

निर्देशक मिलन चाम्सलाई फिल्म बनाउने मेशिन भन्ने गरिन्छ । उनले निर्देशन करिअरको करिब ९ वर्षमा ९ वटा फिल्मको निर्देशन गरिसकेका छन् । उनको पाइपलाइनमा अझै ३/४ वटा फिल्म छन् । आफूले निर्देशन गरेका फिल्म आर्थिक रुपले सफल हुन् या नहुन्, मिलनको निर्देशन यात्रा रोकिएको छैन । उनी ठूलो लगानीमा फिल्म बनाउन आँट गर्ने निर्देशकको रुपमा समेत चिनिन्छन् ।

उनै चाम्सद्वारा निर्देशित नयाँ फिल्म ‘गोर्खा वारियर’ आगामी भदौ २४ (१० सेप्टेम्बर)मा लण्डनको लिसेस्टर स्क्वायरस्थित आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर हुँदैछ । उक्त हलमा हलिउडका चर्चित फिल्मको प्रिमियरदेखि विश्व प्रतिष्ठित फिल्म फेस्टिभलहरु हुँदै आएका छन् । आइम्याक्स सिनेवर्ल्डमा फिल्मको प्रिमियर गर्ने निर्देशक चाम्सको २० वर्ष अगाडिदेखिको सपना थियो, जुन अब पूरा हुँदैछ ।

 

milan chams


मिलनले १० वर्षअघि पनि एकपटक उक्त हलमा फिल्मको प्रिमियर गर्न प्रयास गरेका थिए तर सफल भएनन् । ‘गोर्खा वारियर’को प्रिमियरका लागि लण्डन पुगेका उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘लिसेस्टर स्क्वायरमा फिल्मको प्रिमियर गर्ने २० वर्षदेखिको सपना थियो । १० वर्ष अगाडि एकपटक प्रयास त गरेको थिएँ तर सफल भइएन । त्यो सफल हुन अर्को १० वर्ष लाग्यो । खुसी छु ।’

‘गोर्खा वारियर’को नेपाल प्रदर्शन मिति तोकिएको छैन । निर्देशक चाम्स भने फिल्मले नेपालमा सर्वाधिक कमाईको रेकर्ड राख्नेमा विश्वस्त छन् । ‘फिल्मको बाहिरबाट डिमाण्ड भएको देख्दा गोर्खालीको ब्रान्ड ठूलो रहेछ भन्ने प्रमाणित भएको छ । ‘गोर्खा वारियर’ नेपाली फिल्मको इतिहासमा आर्थिक हिसाबले सबैभन्दा बढी कमाई गर्ने फिल्म बन्नेछ र रेकर्ड राख्नेछ भन्ने विश्वास छ,’ उनले भने ।

सन् १९४९ मा भएको ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित यो फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय रहेको छ । नेपाली, हिन्दी र अंग्रेजी भाषामा फिल्म एकसाथ प्रदर्शन हुनेछ ।

 

तस्बिर : लण्डन नेपाल न्यूज