
अभिनेता सारुक ताम्राकारको आत्महत्याको बारेमा कयौं प्रश्नहरु उठिरहेका छन् । उनले निधनअघिसम्म अभिनय गरिरहेको फिल्म ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङले शनिबार एक अन्तर्वार्तामा केही महत्त्वपूर्ण खुलासा गरेपछि सारुकको निधनबारे गम्भीर छानबिनको माग गर्न फिल्मकर्मीबाट आवाज उठिरहेको छ । जसले गर्दा प्रहरीलाई अनुसन्धानका लागि दबाब बढेको छ ।
अहिले प्रहरी सारुकको मोबाइल जाँचसम्बन्धी रिपोर्टको पखाईमा छ । त्यो रिपोर्ट आउन झन्डै २ हप्ता लाग्ने देखिएको छ । उनको मोबाइल जाँचबुझका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाइएको छ । सारुकले आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ । यसैले उनको पोष्टमार्टमपछि अन्त्येष्टि गरिसकिएको छ । अब प्रहरी उनले आत्महत्या गर्नुको कारण पत्ता लगाउन जुटेको छ ।
यसबीच, प्रहरीले आइतबार अनुसन्धानका लागि सारुकको रातोपुलस्थित निजी निवास अगाडिको सिसी क्यामेराको फुटेज लगेको छ । नेपाल समाचारपत्रसँगको कुराकानीमा सारुकका पिता सानु ताम्राकारले यसको जानकारी गराएका हुन् । उनले सारुकको निधनको राति आफूहरु एक पार्टीमा गएको बेला एकजना अभिनेत्रीले आफ्नो स्वास्थ्यबारे जानकारी लिएको समेत बताएका छन् ।
असार २१ गते सारुक घरमा झुण्डिएको अवस्थामा भेटिएका थिए । बुबा-आमा पार्टीमा गएको बेलामा उनले उक्त कदम उठाएका थिए । उनले निधनको केही घण्टाअघिसम्म ‘ह्यासट्याग माया’को छायांकन गरिरहेका थिए । फिल्मका निर्देशक गुरुङका अनुसार, एक सिनको छायांकनपछि सारुकलाई फिल्मकी अभिनेत्रीले कोठामा हप्काएकी थिइन् । त्यसपछि सारुक निराश देखिएका थिए ।

