
चार महिला पात्रको प्रेमकथामा आधारित रहेको फिल्म ‘जुलेबी’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार वितरक कम्पनी डिसिएनसँग सम्झौतापछि निर्माण टिमले आगामी भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो मितिमा अभिनेता आकाश श्रेष्ठ अभिनीत फिल्म ‘हिँड्दा हिँड्दै’ र अभिनेता गौरव पहारी स्टारर फिल्म ‘नम्बरी सुन’ पनि सार्वजनिक प्रदर्शनको तयारीमा छ ।
फिल्मको प्रमुख भूमिकामा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक र मोनिका थापा छन् । सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायतको पनि अभिनय रहेको फिल्मलाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । उनी फिल्म ‘गाँजाबाजा’पछि निर्देशनमा फर्किएका हुन् । एन्थोलोजी जनरामा निर्मित ‘जुलेबी’ले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विवेक खड्काको छायांकन, अन्जय खड्काको सम्पादन, जाटवेद बनर्जीको संगीत र उत्तम न्यौपानेको साउण्ड डिजाइन छ । फिल्मको निर्माता आभा शर्मा नेपाल हुन् । ‘जुलेबी’को केही देशहरुको ओभरसिज राइट्स पनि बिक्री भैसकेको जनाइएको छ । फिल्मको कथावस्तु दर्शकलाई पृथक लाग्ने निर्देशक पाण्डेको विश्वास छ ।

