.jpg)
अभिनेता अनमोल केसीले फिल्म ‘छड्के २’पछि नयाँ फिल्ममा काम गरेका छैनन् । फिल्म सम्झौता भने आधा दर्जन जति नै गरे । यस वर्ष उनी एउटा होम प्रोडक्सन र अर्को बाहिरी ब्यानरको फिल्ममा अभिनय गर्ने योजनामा छन् । आगामी भदौ २० गतेदेखि उनले सुयोग गुरुङको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘फर्की फर्की’मा काम गर्ने जनाइएको छ ।
फिल्मको छायांकन सुरु नहुँदै निर्माण टिमले प्रदर्शन मिति भने निश्चित गरेको छ । महाशिवरात्रीको विदाको अवसर पारेर आगामी फागुन २५ गते फिल्मलाई प्रदर्शन गर्ने तयारी गरिएको छ । निर्माता अधिकारीले यसको पुष्टि गरे । यही मितिमा नवल खड्काद्वारा अभिनीत तथा निर्देशित फिल्म ‘काँडेतार’ पनि प्रदर्शनमा आउने निश्चित भैसकेको छ । यसपटक महाशिवरात्री शुक्रबार परेको छ ।
फिल्ममा अनमोलको जोडीको रुपमा अभिनेत्री जसिता गुरुङ देखिँदैछिन् । उनीहरुको पहिलो जुगलबन्दी हो । यो फिल्मका लागि अनमोलले ५० लाख पारिश्रमिक बुझेका छन् । उनले साइनिङ अमाउन्टको रुपमा १० लाख बुझिसकेका छन् । नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्मको निर्माणमा ओएसआर डिजिटलले सहकार्य गरेको छ । मनोज वली र रामु न्यौपाने भने सहनिर्मातामा छन् ।
यस फिल्ममा अपूर्व तामाङ, नरेन लिम्बु, भेक र अल्मोडा राना उप्रेतीको संगीत, शैलेश श्रैष्ठको ब्याकग्राउन्ड स्कोर र निमेष श्रेष्ठको सम्पादन रहनेछ । श्रद्धा मास्के मेकअप आर्टिस्ट रहेको फिल्मको प्रोडक्सन डिजाइनर शंकर पाण्डे हुन् । फिल्म लभस्टोरी कथामा बन्नेछ । यसअघि रोहितले अनमोललाई नै लिएर फिल्म ‘गाजलु’ बनाएका थिए । ७ वर्षपछि उनीहरुबीच पुनः सहकार्य भएको हो ।

