असार २१ गते रातोपुलस्थित घरमा झुण्डिएको अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको बारेमा कलाकारहरुबाट उचित छानबिनको माग उठिरहेको छ । उनले आत्महत्या गरेको भए पनि त्यसपछाडिको कारण सामान्य नभएको कतिपयको बुझाई छ । प्रहरीले सारुकको मोबाइल फरेन्सी ल्याब पठाएर अनुसन्धान गरिरहेको छ । उनको परिवारबाट भने प्रहरीमा जाहेरी परेको छैन ।
सारुकले देहत्याग गर्नुभन्दा केही घण्टाअघिसम्म फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरिरहेका थिए । त्यसैले छायांकन सेटमा नै घटेको कुनै घटनाले उनी निराश भएर आत्महत्याको कदम उठाएको हुनसक्ने अड्कलबाजी पनि भैरहेको छ । यसबीच, फिल्मका निर्देशक राजिव गुरुङले रेप सिनको छायांकनपछि अभिनेत्री नम्रता श्रेष्ठले सारुकलाई एउटा कोठामा गाली गरेको बताएका छन् ।
शनिबार न्यूज फिल्मी युट्युब च्यानलसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘रेप सिनको ‘वाइड’ सटपछि नम्रताजी र सारुक भाई एउटा कोठाभित्र जानुभयो र लक गर्नुभयो । हामी नम्रताजीलाई कुरिराखेका थियौं । किनकि, अर्को सट नम्रता र रोयदीप श्रेष्ठको थियो । त्यतिक्कैमा नम्रताजी कराएको सुनौं । नम्रताजीले सारुक भाईलाई कराउनुभएको थियो । सारुकले चाहिँ बोलेको सुनेनौं ।’

(‘ह्यासट्याग माया’को सेटमा अभिनेता सारुक ताम्राकार र निर्देशक राजिव गुरुङ)
केहीछिनमा निर्देशक गुरुङले सारुकलाई बार्दलीमा टोलाइरहेको देखेका थिए । नम्रता र रोयदीपको सिन भने उनले मोनिटरअघि टोलाउँदै हेरेको निर्देशक गुरुङ बताउँछन् । ‘त्यसबेला मैले सारुकलाई ‘सब ठीक छ नि’ भनेर सोध्दा उसले ‘म ठीक छैन’ भनेर भनेको थियो । टेक सकिएपछि छायांकन सकियो । त्यसपछि म घरतिर गएँ, भोलिपल्ट त्यस्तो खबर सुन्नमा आयो,’ राजिवले भने ।
उनले नम्रताको सुझावमा सारुकको रोल परिवर्तन गरेको पनि खुलासा गरेका छन् । उनी भन्छन्, ‘फिल्ममा अहिले रोयदीप श्रेष्ठले गर्नुभएको भूमिका पहिला सारुकको थियो । त्यो क्यारेक्टर पहिला राम्रो भएर पछि नराम्रो हुने थियो । सारुक भाईले अहिले गरेको एन्टागोनिस्टको भूमिकाको लागि हामीले मान्छे खोजिरहेका थियौं । पछि यो क्यारेक्टरमा सारुकलाई राख्नका लागि प्रस्ताव आयो ।’
सारुकको रोल परिवर्तनका लागि नम्रताबाट प्रस्ताव आएको उनले स्वीकार गरेका छन् । ‘नम्रताजीले मलाई सारुकले यो क्यारेक्टर गर्न सक्छ नि भनेर सुझाव दिनुभएको थियो,’ राजिवले भनेका छन्, ‘मैले सारुक भाईसँग सल्लाह गरेँ । उसले तीन दिनको समय माग्यो । तीन दिनपछि मैले सोध्दा उसले ‘म गर्छु’ भन्यो ।’ छायांकन सकिएको दिनदेखि नम्रता सम्पर्कमा नरहेको उनी बताउँछन् ।
राजिवले नम्रता र सारुक एकदमै नजिक रहेको र छायांकनको समयमा सारुकले नम्रताको हेरचाह गर्ने गरेको पनि उल्लेख गरेका छन् । ‘उहाँहरु एकदमै नजिक हुनुहुन्थ्यो । सारुक भाईले नम्रताजीको एकदमै केयर गर्नुहुन्थ्यो । विरामी हुँदा रातभर बस्नुहुन्थ्यो । सामानहरु के चाहिन्छ त्यो उपलब्ध गराइदिने, के डाइट चाहिन्छ, सन्चो छ वा छैन हरेक कुराको हेरचाह गर्नुहुन्थ्यो,’ गुरुङले भने ।
उनले ८/९ महिनाअघि नम्रताले फिल्मको सफलताका लागि एकजना गुरुलाई भेटाउन सारुकको साथमा आफूलाई दोलालघाटको मसानघाटस्थित शिव मन्दिर लगेको एउटा डरलाग्दो घटना (यहाँ उल्लेख गर्न असमर्थ छौं)को बारेमा समेत खुलासा गरेका छन् । सारुक डिप्रेसनमा नरहेको उनको दाबी छ । सारुकले आफूसँग हरेक कुरा निर्धक्क सुनाउने गरेको निर्देशक गुरुङको भनाई छ ।
उनले सारुकको बारेमा उचित छानबिनको माग गर्दै अगाडि भनेका छन्, ‘सारुक भाईको बारेमा छानबिन हुन आवश्यक छ र के भएको हो त्यो थाहा पाउनुपर्छ । आत्महत्यापछि उहाँ डिप्रेसनमा हुनुहुन्थ्यो भन्ने खालको कुरा भैरहेको छ, त्यो चाहिँ एकदमै गलत हो । म सारुक भाईसँग एकदमै नजिक थिएँ । उसले मसँग हरेक कुराहरु सेअर गरिराखेको हुन्थ्यो । ऊ डिप्रेसनमा छँदै थिएन ।’

