
फेसन डिजाइनमा सफल करिअरपछि मनिष मल्होत्राले अब फिल्म निर्देशन गर्ने भएका छन् । ५०/६० को दशककी नामी बलिउड अभिनेत्री मीना कुमारीको जीवनीमा आधारित भएर निर्माण हुन लागेको फिल्मलाई उनले निर्देशन गर्न लागेका हुन् । अभिनेत्री कृति सेसनले मीना कुमारीको भूमिकामा अभिनय गर्ने इन्डिया टाइम्समा उल्लेख छ । हाल फिल्मको स्क्रिप्ट लेखनको काम भैरहेको छ ।
आफ्नो करिअरमा ९० बढी बलिउड फिल्ममा काम गरेकी मीना कुमारको ३८ वर्षको उमेरमा नै लिभर सिरोसिस (कलेजोमा जालो पलाउनु)का कारण निधन भएको थियो । खासगरि दुखान्त फिल्ममा उनको यादगार भूमिकाहरूको लागि याद गर्ने गरिन्छ । सन् १९५२ मा प्रदर्शित फिल्म ‘बैजू बावरा’बाट उनी लोकप्रिय भएकी थिइन् । उनको बायोपिक फिल्मलाई टी सिरिजले निर्माण गर्नेछ ।
करिब तीन दशकदेखि फेसन र फिल्मको दुनियाँमा मनिष गहिराइसँग जोडिएका छन् । उनले हजार बढी भारतीय फिल्मका लागि डिजाइन तयार गरिसकेका छन् भने कयौं पुरस्कार जितेका छन् । उनी भारतका सबैभन्दा महंगा फेसन डिजाइनर समेत हुन् । फिल्म ‘स्वर्ग’बाट कस्ट्यूम डिजाइनको करिअर सुरु गरेका मनिषले माइकल ज्याक्सनका लागि पनि पहिरन डिजाइन गरेका थिए ।

