मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बगान’को खचाखच प्रिमियर र हलको सिढीमा सरोज खनाल

फिल्मीखबर, काठमाडौं, 2023/07/14

नेपाली फिल्मको प्रिमियर खसी-बाख्राको गोठभन्दा पनि अव्यवस्थित हुन्छ । फिल्मको टिमका सदस्यले प्रिमियरको नाममा आफ्नो सातपुस्ते बलाउँछन् । र, ती सातपुस्तेले अरु सातपुस्ता लिएर पुग्छन् । अनि प्रिमियर कम, पारिवारिक शो बढी हुन्छ । प्रिमियरमा पुगेका फिल्मकर्मीहरु भने सिट अभावले हलको सिढीमा नै बस्न बाध्य हुन्छन् । कति प्रिमियरमा त सिढीमा बस्ने समेत ठाउँ हुँदैन ।

बुधबार काठमाडौंको वान सिनेमाजमा आयोजित फिल्म ‘बगान’को प्रिमियर पनि भद्रगोलको एउटा नमुना थियो । सिट क्षमताभन्दा बढी अतिथिहरु उपस्थित हुँदा फिल्म सुरु नहुँदै हलको सिढी समेत भरियो । धेरै फिल्मकर्मी र पत्रकारले सिढीमै बसेर फिल्म हेरे । यतिसम्म कि फिल्मका निर्देशक तथा अभिनेता सरोज खनालले पनि । त्यसैले सिढीमा बस्नुपर्दाको चित्तदुखाई भने कसैले गरेनन् ।

 

saroj khanal


फिल्म सुरु भैसकेपछि निर्देशक तथा वितरक अशोक शर्मा आइपुगेका थिए । उनी बस्नलाई सिट खोज्दै थिए । तर, सरोज खनाल नै सिढीमा बसेको देखेपछि उनी पनि सिढीमै बस्न खोजे । त्यसबेला निर्देशक खनालले एकजना व्यक्तिलाई सिट छोड्न आग्रह गरे र त्यहाँ अशोक शर्मालाई बसाले । आफू सिढीमा बसेरै भए पनि आफ्ना अतिथिप्रति उनले देखाएको सदासयता प्रशंसनीय थियो ।

सिढीमा बसेर फिल्म हेरिरहँदा निर्देशक खनाल बेला बखतमा सिटमा बसेका व्यक्तिहरुको अनुहार पढ्थे । आफ्ना केही रोमान्टिक सिनमा मुख छोप्थे । मार्मिक दृश्यमा चकमन्न हलको माहोल र गहकिला संवादमा गुञ्जने तालीमा उनी लामो सास फेर्थे । फिल्म सकिएपछि हलमा बजेको तालीले उनी केहीबेर सिढीबाट उठ्न सकेनन् । सायद त्यसबेला खनालले जितको महसुस गरेका थिए ।

प्रिमियरमा फिल्मले फिल्मकर्मीबाट राम्रो प्रशंसा कमायो । शुक्रबारबाट फिल्म सार्वजनिक प्रदर्शनमा आएको छ । अभिनयमा तीन दशक विताइसकेका सरोज खनालको निर्देशकको रुपमा ‘बगान’ अग्नि परीक्षा हो । अभिनयबाट उनले कहिल्यै निराश बनाएनन् । त्यसैले उनको निर्देशित फिल्मप्रति दर्शकमा ठूलो अपेक्षा छ । फिल्ममा एकल महिलाको पुनर्विवाहको कथालाई उठाइएको छ ।