गत बिहीबार निजी निवासमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमाथि प्रश्न उठ्न थालेको छ । सामाजिक सञ्जालमा एक महिला पात्रको नाम बारम्बार आइरहेको छ भने सेलिब्रेटीहरुले सारुकको न्यायको माग गरिरहेका छन् । मंगलबार अभिनेत्री सृष्टि श्रेष्ठले इन्स्टाग्राममा सारुकको एउटा तस्विर पोस्ट गर्दै ‘सत्य र न्यायको जित हुन्छ’ भनेर लेखेकी थिइन् ।
यस्तैमा, बिहीबार इन्स्टा स्टोरीमामा एक नोट लेख्दै अभिनेत्री मलिना जोशीले सारुकको आत्महत्या प्रकरणको उचित छानबिनको माग गरेकी छन् । उनले आधा दर्जन बढी प्रश्न गर्दै लेखेकी छन्, ‘उसलाई के हुन सक्थ्यो र ? के कारणले ऊ यो निर्णय लिन बाध्य भयो ? उसको अन्तिम दिनमा ऊसँग को-को थिए ? के भएको थियो अन्तिम कुराकानीमा ? उसको अन्तिम कल कोसँग थियो ?’
सारुकले आफ्ना नजिकका महिला साथीहरूसँगको सम्बन्ध किन तोड्यो ? के ऊमाथि नराम्रो व्यवहार भएको थियो ? के ऊमाथि दुर्व्यवहार भएको थियो ? के उसलाई अपमानित गरिएको थियो ? भन्दै उनले प्रश्न गरेकी छन् । उनले उचित छानबिनको माग गर्दै भएको के हो त्यो सबैले जान्न पाउनुपर्ने उल्लेख गरेकी छन् । उनको पोस्ट अभिनेत्री स्वस्तिमा खड्काले पनि सेअर गरेकी छन् ।
प्रहरीले सारुकको आत्महत्याको कारण पत्ता लगाउन उनको मोबाइल फरेन्सिक ल्याब पठाएको जानकारीमा छ । एकपछि अर्को सेलिब्रेटीहरुले उचित छानबिनको माग गर्न थालेपछि प्रहरीलाई दबाब बढेको छ । सारुकको गत शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ । फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरेर घर फर्किएका सारुकले त्यही साँझ आत्महत्या गरेका थिए ।