नेपाली फिल्ममा तीन दशक विताइसकेका अभिनेता सरोज खनालको पहिलो निर्देशित फिल्म ‘बगान’ शुक्रबार (आज)बाट हलको पर्दामा लागेको छ । अभिनयमा अब्बल मानिने खनालको पहिलो निर्देशन रहेकाले फिल्मप्रति दर्शकले ठूलो अपेक्षा राखेका छन् । यो उनको निर्देशकीय परीक्षा पनि हो । यसमा उनी उत्तीर्ण हुन फिल्मको व्यापारिक सफलता र निर्देशन पक्षको प्रशंसा जरुरी छ ।
निर्देशक खनालले फिल्ममा एकल महिलाको पुनर्विवाहको कथा प्रस्तुत गरेका छन् । अभिनेत्री करिश्मा मानन्धरले फिल्ममा एकल आमाको भूमिका निर्वाह गरेकी छन् भने उनको छोरीको भूमिकामा नव-अभिनेत्री प्रमिला कार्की छिन् । फिल्मको कथा उनीहरुमै केन्द्रित छ । एकल महिलालाई समाजले गर्ने तुच्छ व्यवहार र आमाको पुनर्विवाह गर्न छोरीले गरेको संघर्षमा फिल्म आधारित छ ।
‘बगान’ एकल महिलाको कथामाथि निर्माण भएकाले निर्माण टिमले एकल महिलालाई निःशुल्क फिल्म देखाउने निर्णय पनि गरेको छ । यसका लागि सरकारद्वारा जारी पत्र लिएर हल जानुपर्नेछ । स्वप्न नीरवले लेखेको कथामा आधारित फिल्ममा निर्देशक खनाल स्वयंको पनि अभिनय छ । नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल, आकाश श्रेष्ठलगायतको पनि फिल्ममा अभिनय रहेको छ ।
नेपाली वेबसाइट डटकमसँग केबी फिल्म्सले सहकार्य गरेको ‘बगान’को निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भीएफएक्स, रेनिश फागोको कलर करेक्शन तथा सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर छ ।
‘बिहे पास’ रि-रिलिज
शुक्रबारबाट ‘बगान’सँगै अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’ पुनः प्रदर्शनमा आएको छ । यो फिल्म गत बैशाख १ गते सार्वजनिक प्रदर्शन भएको थियो । त्यसबेला फिल्म ‘जारी’को चेपुवामा परेर असफल भएको फिल्मलाई निर्माताले हल सञ्चालकको आग्रहका कारण पुनः प्रदर्शन गरेको बताएका छन् । फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।