नेपालमा हिट फिल्मको सिक्वेल र सिरिज निर्माणमा होडबाजी चलिरहेको समयमा एक दशकभन्दा अघिको सुपरहिट फिल्म ‘पापी मान्छे’को तेस्रो श्रृंखला पनि निर्माण गरिने भएको छ । यसका अघिल्ला दुई श्रृंखला बक्सअफिसमा सफल भएका थिए । अब नयाँ कथामा निर्माणको योजनासहित बुधबार फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चिम्पान्जीलाई चित्रण गरिएको छ ।
राजकुमार राईको निर्माणमा जनकदीप पराजुलीले फिल्मको निर्देशन गर्नेछन् । निर्देशक पराजुलीले करिब ८ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन् । यसअघि उनले सन् २०१४ मा फिल्म ‘प्रोड्युसर’को निर्देशन गरेका थिए । अहिले चलचित्र निर्देशक समाजको अध्यक्ष समेत रहेका उनले आफ्नो जन्मदिनको अवसरमा ‘पापी मान्छे ३’को घोषणा गर्दै पोस्टर सार्वजनिक गरेका हुन् ।
यतिबेला कथा लेखनको काम भैरहेको निर्देशक पराजुलीले बताए । ‘पापी मान्छे’का अघिल्ला श्रृंखलाका कुनै कलाकार नदोहोरिने पनि उनले स्पष्ट पारे । यसका अघिल्ला दुई श्रृंखलामा अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका थियो । र, बाँदरको पनि अभिनय थियो । तेस्रो श्रृंखलामा एनिमेटेड चिम्पान्जीको अभिनय रहने पोस्टरले संकेत गर्छ । फिल्म एक्सन-थ्रिल जनरा बन्ने बताइएको छ ।
यस वर्ष छायांकन पूरा गरेर अर्को वर्ष प्रदर्शनको तयारी गरिएको छ । आरसी पिक्चर्स र जनकदीप प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ । निर्देशक पराजुलीले फिल्ममा लोकप्रिय कलाकारहरुको अभिनय रहने जानकारी गराएका छन् । ‘पापी मान्छे’को अघिल्ला दुवै पार्टलाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए । नेपालमा सिक्वेल निर्माणको ट्रेन्ड यही फिल्मबाट सुरु भएको मानिन्छ ।