निर्देशक रिमेश अधिकारी नेपालको इतिहासकै ठूलो हत्याकाण्ड मानिने कोतपर्वमाथि फिल्म निर्माण गर्ने तयारीमा छन् । फिल्मको नाम ‘कोतपर्व’ नै राखेर उनले मुख्य भूमिकामा रमेश उप्रेती र सौगात मल्ललाई अनुबन्ध समेत गरिसकेका छन् । आगामी चैतबाट छायांकनमा जाने तरखर गरिएको फिल्ममा अझै केही नाम चलेका कलाकारलाई सम्झौता गर्ने योजनामा निर्देशक अधिकारी छन् ।
यसअघि ‘कोतपर्व’ नाममै अभिनेत्री पूजना प्रधानले फिल्म निर्माण गर्ने तयारी गरेकी थिइन् । २०७५ सालमा चलचित्र विकास बोर्डमा दर्ता भएको फिल्मको निर्देशकमा रिमेश अधिकारीकै नाम छ । तर, तीन वर्षसम्म फिल्म नबनेपछि ‘कोतपर्व’को इजाजत खारेज भैसकेको छ । अब यो नाममा फिल्म बनाउन कस्सिएका निर्देशक अधिकारीले पनि बोर्डबाट निर्माण इजाजत लिइसकेका छैनन् ।
अधिकारी भन्छन्, ‘अबको केही दिनमा नै कागजी प्रक्रिया पूरा गरेर चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्ने तयारी भैरहेको छ । त्यसबेला पनि म र पूजनाजी मिलेरै फिल्म बनाउन लागेका थियौं । तर, त्यतिखेर दुईवटा कम्पनीबाट नाम दर्ता गर्न नमिल्ने बोर्डको प्रावधानले पूजनाजीको कम्पनीमा फिल्म दर्ता गरेका थियौं । अब उहाँले फिल्म नबनाउने भएपछि म आफैं बनाउन कसिएको हुँ ।’
त्यस्तै, पूजनाले ‘कोतपर्व’ आफ्नो कम्पनीबाट बोर्डमा दर्ता भए पनि ठूलो लगानीको आवश्यकता पर्ने भएकाले निर्माण गर्न नसकेको जानकारी गराइन् । उनले भनिन्, ‘फिल्मको बजेट एकदमै ठूलो हुने भएकाले बनाउन सकिएन । र, फिल्मको निर्माण इजाजत पनि खारेज भैसक्यो । अब रिमेशजीले यही नाममा फिल्म बनाउन लागेको भन्ने सुन्दैछु । उहाँले मसँग कुराकानी भने गर्नुभएको छैन ।’
पूजनाले रिमेशकै अघिल्लो फिल्म ‘नालापानी’मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । त्यसअघि उनले आफ्नै निर्माणमा फिल्म ‘चकलेट’ बनाएकी थिइन् । अब उनी नयाँ फिल्म निर्माणको तयारीमा छिन् । अहिले गाउँमा रहेकी उनले फिल्मीखबरसँग भनिन्, ‘नयाँ फिल्म निर्माणको तयारीमा छु । सामाजिक विषयमा फिल्म बन्छ । केही समयमा औपचारिक घोषणा गरेर छायांकन थाल्छु ।’