अभिनेता रमेश उप्रेतीले अमेरिकाबाट फर्किएपछि जम्मा दुईवटा फिल्ममा काम गरेका छन् । उनको कमब्याक फिल्म ‘ब्रासलेट’ थियो । यो व्यावसायिक रुपमा सफल हुन सकेन । त्यसको केही वर्षपछि उनले आफ्नै निर्माणमा फिल्म ‘ऐश्वर्य’ बनाए । यो फिल्म भने औसत चल्यो । तर, यसपछि उनले फिल्ममा काम गरेका छैनन् । ५ वर्षपछि रमेशको कमब्याक फिल्मको टुंगो लागेको छ ।
उनले सोमबार फिल्म ‘कोतपर्व’ सम्झौता गरेका छन् । केही दिनअघि अभिनेता सौगात मल्ल पनि फिल्ममा अनुबन्धित भएका थिए । अब दुई पुस्ताका चर्चित कलाकार एकसाथ पर्दामा देखिने भएका छन् । रमेश कमब्याक फिल्मलाई लिएर उत्साहित देखिएका छन् । सम्भवतः उनले ‘कोतपर्व’अघि आगामी असोजमा अर्को फिल्म गर्न सक्नेछन् । त्यो निखिल उप्रेतीसँगको फिल्म हुनसक्छ ।
छोटेलाल रौनियार र सारदा खड्का अर्याल निर्माता रहेको ‘कोतपर्व’को कार्यकारी निर्माता शिव चन्द्र हुन् । महेश दवाडीको लेखन रहेको फिल्मलाई रिमेश अधिकारीले निर्देशन गर्नेछन् । रिमेश अधिकारी फिल्म्स प्रोडक्सन र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईको स्टुडियोमा गरिने निर्देशक अधिकारीले जानकारी दिए ।
नेपाललाई १०४ वर्षे जहानियाँ निरंकुश राणा शासनमा धकेलेको कोतपर्व (नेपालको इतिहासकै दोश्रो ठूलो हत्याकाण्ड)मा आधारित भएर फिल्म निर्माण हुन लागेको हो । कोतपर्वले जंगबहादुर राणालाई शक्तिशाली शासकका रूपमा उभ्याएको थियो । पछि उनी नेपालका प्रधानमन्त्री समेत बने । कोतपर्वमा ११ चौतारिया, ६ पाण्डे, ३ थापा र ११ क्षेत्रीय भारादारको विभत्स हत्या भएको थियो ।