आगामी फूलपातीमा प्रदर्शनमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को अन्तर्राष्ट्रिय रिलिज पनि निश्चित भएको छ । सेभेन सीजले फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्दै विदेशमा ३ हजारभन्दा बढी शो गर्ने तयारी भैरहेको जानकारी गराएको छ । सोमबार निर्माण कम्पनी टुकी आर्टस् र सेभेन सीजबीच अन्तर्राष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
टुकी आर्टस्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकामा १ हजारदेखि १२ सय शो, क्यानडामा १ सय ५० शो, बेलायतमा ५ सय शो, अष्ट्रेलियामा ५ सय शो, मध्यपूर्वका विभिन्न देशहरुमा ७ सय ५० शो, जपानमा १ सय शो र युरोपका विभिन्न देशमा ५० शो गर्ने तयारी भैरहेको छ ।’ त्यस्तै, भारत, दक्षिण कोरिया, मलेसिया, इराक तथा हङकङमा पनि फिल्म प्रदर्शन हुने जनाइएको छ ।
विज्ञप्तिमा नेपाली फिल्मको इतिहासमा ‘पशुपति प्रसाद २’को अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो हुने दाबी गरिएको छ । यसले नेपाली फिल्म उद्योगलाई माथि उठाउन राम्रो भूमिका खेल्ने निर्माण कम्पनीको विश्वास छ । दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापाको अभिनय छ ।
चरित्र केन्द्रित सिक्वेलमा अघिल्लो श्रृंखलासँगको ‘कनेक्सन’का लागि अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता खगेन्द्र लामिछानेले पनि अभिनय गरेका छन् । खगेन्द्र लामिछानेले निर्माण गरेको फिल्मलाई उनी स्वयंले लेखेका हुन् । फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत छ भने दीर्घ खड्काको काँधमा सम्पादनको जिम्मेवारी छ ।