मिस नेपाल पृष्ठभूमिका एकाध अभिनेत्रीको मात्र करिअर सुखद छ । प्रायःलाई त फिल्ममा स्थापित हुन नै सकस भैरहेको छ । सन् २०१७ की मिस नेपाल निकिता चाण्डकको करिअर पनि सुखद बन्न सकेको छैन । २०७६ सालमा उनले फिल्म ‘साङ्लो’बाट डेब्यू गरेकी थिइन् । तर, फिल्म सफल नहुनु र अभिनयको पनि उत्ति तारिफ नहुँदा निकिता तीन वर्ष फिल्मविहीनको अवस्थामा थिइन् ।
‘साङ्लो’भन्दा अगाडि उनले फिल्म ‘रानी महल’ सम्झौता गरेकी थिइन् । तर, यो फिल्मको केही प्रतिशत छायांकन भएपछि सधैंका लागि रोकियो । र, उनले अभिनेता विराज भट्टको अपोजिटमा ‘साङ्लो’बाट डेब्यू गरिन् । यो फिल्मबाट उनलाई ठूलो आशा थियो । तर, फिल्मको नतिजा निराशाजनक आयो । यसपछि तीन वर्ष गुमनामझैँ रहेकी उनले हालै मात्र नयाँ फिल्म साइन गरेकी छन् ।
‘ह्वाइट सन’ फेम्ड निर्देशक दीपक रौनियारको नयाँ फिल्म ‘राजागञ्ज’मा उनले मुख्य भूमिका निभाउँदैछिन् । फिल्ममा उनका साथै दयाहाङ राई, आशा मंगराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रालगायतको पनि अभिनय रहनेछ । ‘कबड्डी’ श्रृंखलाका निर्देशक रामबाबु गुरुङ फिल्मको निर्मातामा छन् । निकितालाई यो फिल्म सफल हुनैपर्ने दबाब छ ।
उनले अभिनयमा आफूलाई प्रमाणित गर्ने यो एउटा राम्रो अवसर समेत हो । ‘राजागञ्ज’को निर्देशक-निर्मातादेखि कलाकारसम्मको टिम बलियो छ । यसैले निकितालाई फिल्ममा स्थापित हुन ‘राजागञ्ज’ले ठूलो भूमिका खेल्न सक्नेछ । यतिबेला उनी जनकपुरमा फिल्मको वर्कसप गर्दैछिन् । उनी फिल्मलाई लिएर गम्भीर देखिएकी छन् । यो फिल्म निकिताको करिअरको अग्नि परीक्षा हुनेछ ।