आगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट लम्बाईको ट्रेलरमा भुवन सिंह राई र सारा लोहोरुङ राईबीचको प्रेममा आउने उतार-चढावलाई देखाइएको छ । कलाकार बुद्धि तामाङले भुवनको पिताको भूमिका निभाएका छन् । फिल्मले आदिवासी जनजाति समुदायको कथालाई उठाएको ट्रेलरबाट बुझ्न सकिन्छ ।
ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मलाई किरण राईले निर्देशन गरेका हुन् । फिल्ममा भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीपजंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको पनि विशेष भूमिका छ । भूमिसा प्रोडक्सनले द इस्टर्न मिडियासँग निर्माणमा सहकार्य गरेको फिल्मको निर्मातामा सञ्जिव राई छन् ।
‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत र किरण राईको छायांकन तथा सम्पादन छ । भुवन सिंह राईको कथा लेखन रहेको फिल्मको पटकथा तथा संवाद भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले तयार पारेका हुन् । प्रयास घिमिरे कार्यकारी निर्माता रहेको यस फिल्मको सह-निर्मातामा शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टीआर साम्सोहाङ छन् ।