अघिल्लो वर्षको सुपरहिट फिल्म ‘दुई नम्बरी’को स्टारकास्टलाई लिएर फिल्म ‘हात्तीछाप’को छायांकन सुरु गरिएको छ । आइतबार बालकुमारीस्थित एक ग्यारेजमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन थालिएको हो । ‘झ्यानाकुटी’ फेम्ड निर्देशक सिमोस सुनवारले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्मको छायांकन १५ दिन काठमाडौं र १५ दिन पोखरा आसपासमा हुनेछ ।
छायांकन सुरु भएसँगै फिल्ममा अभिनेत्री बेनिशा हमालको प्रवेश भएको छ । सिमोससँग उनको यसअघि ‘झ्यानाकुटी’मा सहकार्य भएको थियो । ‘हात्तीछाप’मा बेनिशासँगै दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, गौरव पहारी, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, रविन्द्र झा लगायतको अभिनय रहनेछ ।
सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरेर बन्न लागेको फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको हो । ‘दुई नम्बरी’ निर्माता किरण नेपाली फिल्मको प्रस्तुतकर्ता हुन् । सुशन प्रजापति फिल्मको छायाँकारमा छन् । साउनभित्र छायांकन पूरा गरेर फिल्मलाई आगामी तिहार छेकोमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । फिल्मको निर्माण कम्पनी रेड बर्ड प्रोडक्सन हो ।
बेनिशा हमालले पहिलो पटक दयाहाङ राईसँग काम गर्न पाउँदा आफू अत्यन्तै उत्साहित रहेको बताइन् । त्यस्तै, दयाहाङ राईले फिल्मको कन्सेप्ट आफूलाई निकै मन परेकाले काम गर्न तयार भएको बताए । उनी ‘हात्तीछाप’को छायांकन सकिनसाथ फिल्म ‘राजागञ्ज’मा व्यस्त हुँदैछन् । उनी केही दिन जनकपुरमा यो फिल्मको वर्कसप गरेर शनिबार साँझ मात्र काठमाडौं फर्किएका हुन् ।