मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बगान’ले समाजको यथार्थ चित्रण गरेको छ : सरोज खनाल

फिल्मीखबर, काठमाडौं, 2023/07/09

saroj khanal

 

अभिनेता टर्न निर्देशक सरोज खनालले फिल्म ‘बगान’ले नेपाली समाजको यथार्थ चित्रण गरेको बताएका छन् । फिल्मको प्रचारका लागि देश दौडाहामा रहेका उनले बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै समस्यासँग जुध्न र समाधानका लागि समाजलाई बाटो देखाउन फिल्मले भूमिका खेल्ने विश्वास व्यक्त गरे । फिल्मले एकल महिलाहरुको कथा बोल्ने निर्देशक खनालको भनाई छ ।

एकल महिलाको हक-अधिकार तथा चाहनाको पक्षमा नेपाली समाज हिँड्न नसक्दा यस्तो कथा जन्मिएको उनी बताउँछन् । उनले नेपालमा रहेका १५ लाख बढी एकल महिलाहरुलाई फिल्म निःशुल्क देखाउन लागेको पनि जानकारी गराए । यसको लागि हलमा सरकारले प्रदान गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्ने खनालले बताए । फिल्ममा उनको पनि महत्त्वपूर्ण भूमिकामा छ ।

अभिनेत्री करिश्मा मानन्धरले ‘बगान’ले एकल नारीको अधिकार, समस्या र चुनौतीका साथै समाधान पनि खोजेको बताइन् । ‘कथा मन परेकै कारण फिल्ममा आफू आबद्ध भएको जानकारी गराउँदै उनले भनिन्, ‘समाजका कुरिती र कुसंस्कृति बिरुद्धको फिल्म हो,’ उनले भनिन् । नव अभिनेत्री प्रमिला कार्कीले ‘बगान’मा नारीको बेदनालाई टपक्क टिपेर कथा बुनिएको धारणा राखेकी छन् ।

यही असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, आकाश श्रेष्ठलगायतको पनि अभिनय छ । नेपाली वेबसाइट डटकमसँग केबी फिल्म्सले सहकार्य गरेको ‘बगान’को निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर (करिश्माका श्रीमान्) हुन् । फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन छ ।