फिल्म ‘नाईं नभन्नू ल ३’बाट निर्देशनमा डेब्यू गरेका मुस्कान ढकालले फिल्म ‘समर लभ’ रिलिजको करिब चार वर्षपछि निर्देशनमा कमब्याक गर्ने भएका छन् । उनको निर्देशनमा फिल्म ‘पञ्चामृत’ बन्न लागेको हो । ठूलो क्यानभासमा निर्माणको तयारी भैरहेको फिल्ममा निर्देशक ढकालले कलाकारको लाइनअप बलियो बनाएका छन् । कलाकारले नै फिल्मलाई प्रतिक्षीत बनाउने देखिन्छ ।
स्रोतका अनुसार, फिल्मको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्ध भैसकेका छन् । दुई महिनाअघि नै उनीसँग मुस्कानले सम्झौता गरेका हुन् । फिल्ममा निरुता सिंह, विपना थापा, उत्तम प्रधान र मिथिला शर्माको पनि अभिनय रहनेछ । फिल्ममा अनुप बरालको पनि सम्भावना छ । भदौबाट सुटिङमा जान लागेको फिल्म आध्यात्मिक-लभस्टोरी कथावस्तुमा बन्ने जानकारी प्राप्त छ ।
फिल्म तीनवटा च्याप्टरमा निर्माण हुने निकट स्रोत बताउँछ । त्यसमध्ये बीचको भाग यसपटक बनाउने तयारीमा निर्देशक मुस्कान छन् । तीन वर्ष लगाएर उनले फिल्मको स्क्रिप्ट तयार पारेको जानकारीमा छ । फिल्ममा अझै केही नाम चलेका कलाकारहरुलाई सम्झौता गर्ने तयारीमा निर्माण टिम रहेको बताइएको छ । फिल्ममा सौगात मल्लको भूमिका बलशाली रहेको जानकारी प्राप्त छ ।
‘दर्पण छायाँ’ जोडी उत्तम र निरुताले डेढ दशकपछि एकसाथ काम गर्न लागेका हुन् । विपनासँग पनि उनीहरुले लामो समयपछि सहकार्य गर्दैछन् । विपना र उत्तम त एक दशकपछि नेपाली फिल्ममा फर्किन लागेका हुन् । निरुताले भने सन् २०१९ मा फिल्म ‘दाल भात तरकारी’ गरेकी थिइन् । वर्षौंपछि ९० को दशकका तीन लोकप्रिय कलाकारलाई एकसाथ हेर्न दर्शकलाई रोचक हुनेछ ।