मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

सौगात र नीतिपछि राजबल्लभले पनि छाडे ‘कामिनो’

फिल्मीखबर, काठमाडौं, 2023/07/07

Raj Ballav Koirala

 

स्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘कामिनो’ अब संकटमा देखिएको छ । फिल्ममा निश्चित भएका कलाकारहरु श्रृंखलाबद्ध रुपमा बाहिरिरहेका छन् । सबैभन्दा पहिला सौगात मल्लले छाडे । बलिउड अभिनेता अनुपम खेरको एक्टिङ स्कुलमा अभिनय सिक्नका लागि नीति शाहले पनि फिल्म छाडिसकेको अवस्था छ । अब राजबल्लभ कोइरालाले पनि फिल्मबाट हात झिकेका छन् ।

‘कामिनो’बाट राजबल्लभ १० वर्षपछि फिल्ममा कमब्याक गर्ने तयारीमा थिए । तर, फिल्मको सुटिङ समयमा सुरु नहुनु र ब्राजिल र मेक्सिकोको भिसा समस्याले त्यहाँ छायांकन नहुने भएपछि उनले बाहिरिने निर्णय गरेको बुझिएको छ । उनी स्वयंले फिल्मबाट आफू अलग भएको जानकारी दिए । तीनजना प्रमुख कलाकारहरु बाहिरिएपछि अब फिल्म निर्माण हुनेमै आशंका जन्मिएको छ ।

फिल्ममा सबैभन्दा पहिला अभिनेता प्रदीप खड्का अनुबन्धित भएका थिए । त्यसपछि अभिनेत्री वर्षा सिवाकोटी भित्रिएकी थिइन् । उनीहरुले भने फिल्म छाडिसकेका छैनन् । अबको एक/डेढ हप्तामा छायांकन सुरु नभए प्रदीपले पनि फिल्म छाड्न सक्ने स्रोतको दाबी छ । फिल्मको निर्माण अन्योल भएपछि प्रदीप अहिले निर्देशक दिनेश राउतको एक बेनामे फिल्मको तयारीमा जुटेका छन् ।

निर्देशक दीपक ओली भने साउन पहिलो हप्ताबाट छायांकन सुरु हुने दाबी गर्छन् । ब्राजिल र मेक्सिकोमा छायांकन नहुने भएपछि स्क्रिप्टमा केही परिवर्तन गरिएको छ । अब फिल्मको छायांकन नेपाल र फिलिपिन्समा गर्ने तयारीमा दीपक छन् । नीतिको ठाउँमा अभिनेता दीलिप रायमाझीकी छोरी दिव्यालाई निर्माण टिमले अफर गरेको बुझिएको छ । तर, दिव्याले कुनै निधो दिएकी छैनन् ।