विश्वमै नाम चलेका सेलिब्रेटीहरुले आत्महत्याको बाटो रोजिरहेका छन् । यसले कलाकारहरुको मानसिक स्वास्थ्यलाई लिएर विश्वमै व्यापक बहस भैरहेको छ । नेपालमा भने सामान्य रुपमा लिइँदै आएको छ । बिहीबार नेपाली फिल्मका अभिनेता सारुक ताम्राकार घरमै झुण्डिएको अवस्थामा भेटिएपछि फिल्म क्षेत्रमा कलाकारहरुको मानसिक स्वास्थ्यको बारेमा बहस सुरु हुन थालेको छ ।
अभिनेत्री केकी अधिकारीले फिल्म निर्माणको समयमा कलाकार तथा प्राविधिकहरूका लागि मानसिक स्वास्थ्य परामर्श विभाग राख्न जरुरी भैसकेको धारणा राखेकी छन् । फिल्मको बजेट बनाउँदा समेत यो कुरामा ध्यान दिन अत्यन्त आवश्यक भैसकेको उनको भनाई छ । सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्ने भएकाले यसमा गम्भीर हुन उनको सुझाव छ ।
त्यस्तै, फिल्म लेखक तथा समीक्षक सामिप्यराज तिमल्सिनाले सारुक ताम्राकारको कदमपछि नेपालमा मानसिक स्वास्थ्यको बारेमा बहस हुन जरुरी रहेको बताएका छन् । नेपालको फिल्म क्षेत्र व्यावसायिक नभएको बताउँदै उनले लेखेका छन्, ‘अर्कालाई शोषण गर्ने र अर्काको टाउकोमा टेकेर सफल भएको भ्रम छर्ने प्रतिस्पर्धा छ । फिल्म क्षेत्रमा कलाकारका लागि फ्लपको प्रेसर धेरै छ ।’
सञ्चारकर्मीले पनि हिट र फ्लपको आँकडालाई प्राथमिकताका साथ छापिदिँदा फिल्मकर्मीमा दबाब बढेको र यो शैलीमा पुनर्विचार गर्न जरुरी रहेको उनको बुझाई छ । उनको स्टाटसमा निर्देशक दीपेन्द्र के. खनाल, निर्देशक समाजका अध्यक्ष तथा निर्देशक जनकदीप पराजुली, अभिनेत्रीहरु झरना थापा, सञ्चिता लुईटेल र जिया केसी, अभिनेता राज कटुवालले सहमति जनाएका छन् ।