गायक तथा संगीतकार कोशिश क्षेत्रीले आफूलाई अभिनयमा पनि प्रमाणित गरिसकेका छन् । अब उनी फिल्मको निर्देशक बनेका छन् । उनले हरर-लभस्टोरी कथामा फिल्म ‘बाइरोड’को निर्देशन गरेका छन् । फिल्ममा उनी स्वयंको लेखन, निर्माण तथा अभिनय छ । फिल्ममा उनको अपोजिटमा अभिनेत्री सुरक्षा पन्तले अभिनय गरेकी छन् । गत वर्ष नै फिल्मको छायांकन पूरा भैसकेको छ ।
‘बाइरोड’मा निर्माण, अभिनय, निर्देशन र लेखनको जिम्मेवारी सम्हाल्दा एकदमै गाह्रो भएको कोशिशको अनुभव छ । उनले सञ्जय गुप्ताको पोडकास्टमा भनेका छन्, ‘चारवटै जिम्मेवारी सम्हाल्दा पागल भइँदो रैछ । एकदमै डरलाग्दो अनुभव भयो । सम्पादनको लाइनअप सकिएपछि हेर्ने जतिले राम्रो प्रतिक्रिया दिनुभएको छ ।’ फिल्ममा सरिता गिरी, भोलाराज सापकोटाको पनि अभिनय छ ।
कोशिश फिल्मबारे जानकारी दिँदै भन्छन्, ‘हेटौंडा र काठमाडौंको बाइरोडको बाटो बनाउने क्रममा धेरैको निधन भएको थियो रे । त्यसपछि त्यो बाटो ‘हन्टेड’ भयो भन्ने हामीले बच्चादेखि नै सुन्दै आएका थियौं । मेरो हजुरबुबाको पनि २/४ वटा ट्रक छ । उहाँले बाइरोडको बाटोको धेरै अनुभव मलाई सानो हुँदा सुनाउनुभएको थियो । त्यही कुरालाई नै दृश्यभाषामा उतार्ने प्रयास गरेका छौं ।’
‘बाइरोड’ अबको ५० वर्षपछि रिलिज गर्दा पनि पुरानो नहुने उनको जिकिर छ । ‘हामीले बाइरोडको बाटोको बारेमा जे सुनेका छौं, त्यसैलाई देखाउन खोजेका छौं । अहिलेको पुस्ताले त त्यो सुनेकै छैन । कुनै समय यस्तो पनि थियो है भनेर देखाएका छौं,’ कोशिश भन्छन्, ‘यो फिल्म ५० वर्षपछि रिलिज गर्दा पनि पुरानो हुँदैन । किनभने कन्टेन्ट नै पुरानो छ र पुरानै शैलीमा निर्माण गरेका छौं ।’