मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अगस्त्य’ नभ्याउँदै सौगातले साइन गरे ‘कोतपर्व’

फिल्मीखबर, काठमाडौं, 2023/07/06

saugat malla

 

भर्सटायल अभिनेता सौगात मल्ल अहिले करिअरको उचाइँमा छन् । गत वर्ष ‘दुई नम्बरी’ र ‘कबड्डी ४’ सफल भएपछि उनको माग चरमचुलीमा छ । अहिले उनको पाइपलाइनमा एक दर्जन फिल्म रहेको जानकारी प्राप्त छ । केही दिन अगाडि मात्र उनले फिल्म ‘अगस्त्य’को पहिलो चरणको छायांकन पूरा गरे । अब उनले १० केजी तौल बढाएपछि फिल्मको दोस्रो चरणको छायांकन हुनेछ ।

‘अगस्त्य’को दोस्रो चरणको छायांकनभन्दा अघि उनले साउनमा फिल्म ‘हात्तीछाप’को छायांकन पूरा गर्दैछन् । यसबीच, उनले एक नयाँ फिल्म सम्झौता गरेका छन् । बुधबार उनी रिमेश अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘कोतपर्व’मा अनुबन्धित भएका हुन् । उनले कथावस्तु र चरित्र रुचाएपछि फिल्म सम्झौता गरेका हुन् । उनले आगामी चैतका लागि फिल्मलाई समय दिएका छन् ।

नेपाललाई १०४ वर्षे जहानियाँ निरंकुश राणा शासनमा धकेलेको कोतपर्व (नेपालको इतिहासकै दोश्रो ठूलो हत्याकाण्ड)मा आधारित भएर फिल्म निर्माण हुन लागेको हो । कोतपर्वले जंगबहादुर राणालाई शक्तिशाली शासकका रूपमा उभ्याएको थियो । पछि उनी नेपालका प्रधानमन्त्री समेत बने । कोतपर्वमा ११ चौतारिया, ६ पाण्डे, ३ थापा र ११ क्षेत्रीय भारादारको विभत्स हत्या भएको थियो ।

सौगातलाई जंगबहादुरको भूमिकाका लागि ‘कोतपर्व’मा अनुबन्धित गरिएको हुनसक्ने अनुमान गरिएको छ । निर्देशक अधिकारीले भने यसबारेमा कुनै जानकारी गराएका छैनन् । रिमेश अधिकारी फिल्म्स प्रोडक्सन र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बन्न लागेको फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईको स्टुडियोमा गरिने निर्देशक अधिकारीले जानकारी दिए ।