आफ्ना अभिव्यक्तिका कारण अक्सर विवादमा आउने गरेकी अभिनेत्री तथा एलिजा फाउन्डेसनकी प्रमुख एलिजा गौतमले सक्रिय राजनीतिबाट विदा लिने घोषणा गरेकी छन् । गत माघमा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी उनले बिहीबार फेसबुकमा एक पोस्टमार्फत् राजनीतिबाट विदा लिएको जानकारी गराएकी हुन् । उनले अब समाज सेवालाई निरन्तरता दिने उल्लेख गरेकी छन् ।
धरान उपमहानगरका मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा सघाउँदै गर्दाको तस्बिरहरु सेअर गर्दै उनले लेखेकी छन्, ‘मेरा आगामी दिन समाज सेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’ उनले दलको सक्रिय राजनीति गर्नेहरुलाई एकपटक धरान पुगेर मेयर साम्पाङको काम हेर्न समेत अनुरोध गरेकी छन् ।
मेयर साम्पाङको प्रशंसा गर्दै उनले लेखेकी छन्, ‘धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सु:ख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ ।’ उनले साम्पाङको श्रम शिविरको लागि १० वटा साबेल प्रदान गरेकी छन् ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई सर्वोच्च अदालतले दिपालयले गरेको जन्मकैदको फैसलालाई सदर गरेपछि एलिजाले नेता चौधरीलाई नछुटाए देशमा आगो बाल्ने चेतावनी दिएकी थिइन् । यो अभिव्यक्तिले उनको चर्को आलोचना भएको थियो । पछि राष्ट्रपतिबाट आममाफी पाएका चौधरीलाई स्वागत गर्न उनी फूलमाला लिएर डिल्लीबजार कारागार नै पुगेकी थिइन् ।
उनी ६ महिने मन्त्रीको लोभमा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको चर्चा चलेको थियो । तर, पार्टीमा प्रवेश गरेको ५ महिना वित्दा पनि पार्टीले मन्त्री त टाढाको कुरा कुनै जिम्मेवारी समेत नदिएपछि उनी पार्टीबाट अलग भएको बताइन्छ । फिल्म ‘अनुराग’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले गत वर्ष ‘घुइँचो’ नामक फिल्म सम्झौता गरेकी थिइन् । तर, अब यो फिल्म नबन्ने भएको छ ।