यही असार २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बगान’ एकल महिलालाई निःशुल्क देखाइने भएको छ । बुधबार काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक तथा अभिनेता सरोज खनालले फिल्म एकल महिलाको कथामाथि आधारित भएर बनेकाले नेपालमा रहेका १५ लाख बढी एकल महिलाहरुलाई सित्तैमा फिल्म देखाउन लागिएको जानकारी गराए ।
‘हामीले सम्पूर्ण एकल महिलाको सम्मानका लागि निःशुल्क फिल्म देखाउने निर्णय गरेका हौं,’ खनालले भने । कार्यक्रममा माइती नेपालकी अनुराधा कोइराला, उप-सभामुख इन्दिरा राना मगर, कोशी प्रदेश सांसद् मीना श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान समेत गरिएको थियो ।
निर्देशक खनालले फिल्ममा झन्डै २० मिनेट एकल आमाले शैक्षिक हिसाबमा आफूलाई सक्षम बनाउन गरेको संघर्षलाई देखाइएको बताए । उनले भने- ‘यदि कसैलाई शिक्षित गराउनु छ भने पहिला आफू शिक्षित हुनुपर्छ । त्यसैले फिल्ममा मैले पहिला आमालाई शिक्षित बनाएको छु र पछि उहाँले आफ्नी छोरीलाई शिक्षित बनाउनु हुन्छ । २ घण्टाको फिल्ममा २० मिनेट त शिक्षाकै बारेमा छ ।’
फिल्ममा अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको भूमिका निभाएकी छन् । फिल्मको विषयवस्तु अत्यन्त गहन रहेको बताउँदै उनी भन्छिन्, ‘समाजलाई परिवर्तन गर्नका लागि यो फिल्मले सानो भूमिका खेल्न सक्यो भने हामीले त्यसलाई सफलता मान्ने छौं ।’ आफूले आमाको भोगाईलाई अत्यन्त नजिकबाट निहालेकाले फिल्ममा त्यसैलाई प्रस्तुत गर्ने कोशिश गरेको करिश्माको भनाई छ ।