मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बगान’ ट्रेलरमा आमाको पुनर्विवाह गराउन छोरीले गर्ने संघर्ष

फिल्मीखबर, काठमाडौं, 2023/07/05

karishma manandhar

 

अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलर एकल महिलाको पुनर्विवाहको कथामा केन्द्रित छ । आमा (करिश्मा मानन्धर)को पुनर्विवाह गराउन छोरी (प्रमिला कार्की)ले गर्ने संघर्ष र त्यसमा परिवारले गर्ने अवरोधलाई ट्रेलरमा मर्मस्पर्शी ढंगले भनिएको छ ।

ट्रेलरमा संवाद सशक्त छ । श्रीमानको निधनपछि स्वःअध्ययन गरेर महिलाहरुलाई हक-अधिकारका लागि लड्न जागरुक बनाउने महिलाको भूमिकामा करिश्मा छिन् । तर, उनै घरमा भने अन्यायविरुद्ध लड्न सक्दिनन् । सरोज खनालको आगमनपछि उनको जीवनमा आउने उथल-पुथललाई ट्रेलरमा मनछुने ढंगले देखाइएको छ । ट्रेलरले फिल्म दृश्यभाषामा सशक्त रहेको छनक दिन्छ ।

ट्रेलरमा करिश्मा, सरोज र प्रमिलाका साथै नीर शाह, मिथिला शर्मा र आकाश श्रेष्ठ पनि प्रस्तुत छन् । प्रमिलाको प्रेमीको भूमिकामा आकाश छन् । स्वप्न नीरवले लेखेको कथामाथि आधारित भएर बनेको फिल्म यही असार २९ गतेबाट प्रदर्शन हुँदैछ । कलाकारबाट निर्देशक बनेका सरोज खनालले आफूले इमानदारपूर्वक कथा भन्ने प्रयास गरेको बताए । ‘बगान’ उत्कृष्ट बनेको उनको दाबी छ ।

नेपाली वेबसाइट डटकमसँग केबी फिल्म्सले सहकार्य गरेको ‘बगान’को निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भी.एफ.एक्स, रेनिश फागोको कलर करेक्शन तथा सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर छ ।