२०७१ सालमा प्रहरीसँगको मुठभेडमा मारिएका डन दिनेश अधिकारी (चरी)को जीवनीमा फिल्म बन्ने भएको छ । दिनेश नजिकका एक व्यक्ति (हालै जेलमुक्त भएका)ले अभिनेता कोशिश क्षेत्रीलाई फिल्मको प्रस्ताव राखेका छन् । कोशिशले आफूलाई फिल्मबाट प्रस्ताव आएको जानकारी दिँदै आगामी वर्षभित्रमा निर्माण हुनसक्ने बताए । उनलाई चरीको भूमिकाका लागि प्रस्ताव गरिएको हो ।
कोशिशले भने, ‘कुनै समय दिनेश दाईसँग मेरो राम्रो चिनजान थियो । त्यसबेलै उहाँको जीवनीमा फिल्म बनाउने कुरा भएको थियो । तर, उहाँको निधनपछि काम नै अगाडि बढ्न सकेन । अहिले उहाँको एकजना नजिकको साथीले फिल्म बनाउनका लागि एक महिनाअघि मसँग भेट गर्नुभएको थियो । उहाँले स्क्रिप्ट लेखनदेखि कलाकार छनोटसम्मको सम्पूर्ण काम मलाई सुम्पिनुभएको छ ।’
फिल्ममा चरीको जन्मदेखि मृत्यसम्म सबै कुरा समेटिने उनको भनाई छ । ‘प्रायः बायोपिक फिल्ममा सम्बन्धित व्यक्तिको राम्रो पक्ष मात्र देखाइन्छ । तर, हामी दिनेश अधिकारीको हरेक एक पाटोलाई प्रस्तुत गर्नेछौं । यो कुरा मैले उहाँको साथीलाई पनि भनेको छु र उहाँ सकारात्मक हुनुहुन्छ,’ उनले भने । चरीसँग जोडिएका पात्रहरुसँग भेटघाटपछि कथा लेखनको काम थालिने उनले बताए ।
उनी दिनेश अधिकारीको भूमिका निर्वाह गर्न तयार देखिएका छन् । कुनै चुनौतीपूर्ण भूमिका भए आफू काम गर्न हामफाल्ने गरेको बताउँदै उनले भने- ‘मलाई फरक क्यारेक्टरमा काम गर्न मन लाग्छ । म आफैंमाथि चुनौती मोल्न रुचाउँछु । त्यसमाथि दिनेश अधिकारीको भूमिका निभाउनु चुनौतीपूर्ण काम हो । म त तयार छु ।’ चरीसँग कोशिशको शारीरिक बनावट धेरै मिल्दोजुल्दो छ ।
चरीले निधनभन्दा केही समय अगाडि लेखक शिवम अधिकारीलाई आफ्नो जीवनीमा फिल्मको कथा लेखिदिन प्रस्ताव गरेका थिए । शिवमले ५० प्रतिशत स्क्रिप्ट पनि लेखिसकेका थिए । तर, स्क्रिप्ट लेखनकै क्रममा चरी विते । शिवमका अनुसार, चरीले आफ्नो जीवनीमा बन्ने फिल्मको आफैंले निर्माण गर्न लागेका थिए । उनको त्यो अधुरो सपना अब उनका साथीले पूरा गरिदिने भएका छन् ।