अभिनेत्री शिल्पा मास्केले फिल्मको सफलता अनुभव गर्न पाएकी छैनन् । हलिउड र बलिउड फिल्म हुँदै ‘द ब्रेकअप’बाट नेपाली फिल्ममा भित्रिएकी उनले अभिनयमा राम्रो सम्भावना देखाए पनि फ्लप श्रृंखलाले छाँयाझैँ पछ्याइरहेको छ । उनको दोस्रो फिल्म ‘कागजपत्र’ पनि असफल भएको थियो । केमियो भूमिका गरेका फिल्म (कठपुतली र फूलबारी)ले समेत उनलाई राहत दिएनन् ।
यही असार १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परस्त्री’बाट उनलाई ठूलो आशा थियो । भारतमा प्रदर्शन हुने चर्चाले फिल्मलाई फाइदा पुग्ने उनको विश्वास थियो । फिल्ममा उनले पहिलो पटक बोल्ड क्यारेक्टर निभाएकी थिइन् । तर, फिल्म न नेपालमा चम्किन सक्यो न भारतमा । उनका अघिल्ला दुई फिल्मभन्दा पनि दयनीय प्रदर्शन ‘परस्त्री’ले गरेको छ । यो उनका लागि ठूलो धक्का हो ।
‘परस्त्री’को ट्रेलरमा समावेश उनको बोल्ड सिनलाई लिएर जति चर्चा भएको थियो, प्रदर्शनपछि त्यसखालको चर्चा हुन सकेन । बरु फिल्ममा उनको बोल्ड सिनको सान्दर्भिकतामाथि प्रश्न उठ्यो । किनकि, फिल्ममा उनको बोल्ड सिनले कथालाई अगाडि बढाउन भूमिका खेलेको छैन । न त उनको बोल्ड सिनले दर्शकलाई हलसम्म तान्न सक्यो । फिल्मले हलमा दम तोडिसकेको अवस्था छ ।
उनले एउटा फिल्म नछाडेको भए करिअरलाई धेरै ठूलो राहत मिल्न सक्थ्यो । फिल्म ‘झिँगेदाउ’ सबैभन्दा पहिला उनकै पोल्टामा परेको थियो । उनले काम गर्ने मौखिक सहमति भैसकेको थियो । तर, स्क्रिप्ट पढेपछि उनले काम गर्न मानिनन् । बुझिएअनुसार, उनलाई स्क्रिप्ट मन परेको थिएन । अन्ततः त्यही फिल्म सुपरहिट भयो । उनले स्क्रिप्टमा दम देखेको ‘परस्त्री’ भने फ्लप भएको छ ।