गत बैशाख १ गते प्रदर्शनमा आएको प्रवेश पौडेलद्वारा निर्देशित फिल्म ‘बिहे पास’ले अपेक्षाकृत दर्शक पाउन सकेको थिएन । केही हदसम्म ‘जारी’को मारमा परेको थियो । एकपटक फेरि फिल्मलाई हलमा प्रदर्शन गरिने भएको छ । सोमबार फिल्मको पोस्टर सार्वजनिक गर्दै यही असार २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । यही मितिमा फिल्म ‘बगान’ पनि प्रदर्शनमा आउँदैछ ।
फिल्मका निर्माता तथा वितरक रोहित कट्टेलले यतिबेला हलमा नेपाली फिल्म खासै नभएका कारण हल व्यावसायीहरुकै आग्रहमा ‘बिहे पास’ पुनः प्रदर्शन गर्न लागिएको बताए । कट्टेलले भने, ‘अहिले हलमा नेपाली फिल्महरु खासै छैनन् । हलवालाहरुले पनि एकपटक पुनः रिलिज गर्न आग्रह गरेपछि हामीले आँट गरेका हौं । भयंकर चल्छ भन्ने त छैन तर दर्शक आउँछन् भन्ने विश्वास छ ।’
गएको जेठमा चितवनको पर्साको एक हलमा फिल्मलाई पुनः रिलिज गर्दा दुई हप्तासम्म दर्शकको राम्रो उपस्थिति रहेको जानकारी दिँदै निर्माता कट्टेलले हेर्न छुटेका दर्शकलाई लक्षित गरेर पुनः प्रदर्शन गर्न लागिएको बताए । ‘जारी’सँगको भिडन्तका बावजूद पनि फिल्मले प्रदर्शनको दुई दिन भने सुखद व्यापार गरेको थियो । नेपाल प्रदर्शनपछि अहिले विभिन्न देशहरुमा फिल्म चलिरहेको छ ।
फिल्ममा दयाहाङ राई, प्रकृति श्रेष्ठ, श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, उमा बानियाँ, नविन शेरचन आदिको अभिनय छ । रोहित कटेल प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । नेपालमा रि-रिलिज भएका फिल्मले राम्रो व्यापार गरेको रेकर्ड छैन । अब ‘बिहे पास’ अपवाद बन्छ या फेरि असफल हुन्छ, हेर्न बाँकी छ ।